काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयमा नआएका एक सह-सचिवविरुद्ध कानुनी कारबाही अघि बढाएको छ।
मन्त्रालयका अनुसार ती सह-सचिव २०८२ माघ ११ गतेदेखि कार्यालयमा अनुपस्थित छन् र अहिलेसम्म ९० दिनभन्दा बढी समय बितिसकेको छ। मन्त्रालयले विभिन्न माध्यमबाट उनलाई सम्पर्क गर्ने प्रयास गर्दा पनि उनी सम्पर्कमा आएनन् र कुनै जानकारीसमेत दिएनन्।
यस्तो अवस्थामा निजामती सेवा ऐन, २०४९ बमोजिम उनलाई सरकारी सेवाबाट हटाउने कारबाही अघि बढाउनुपर्ने देखिएकाले मन्त्रालयले उनलाई १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेस गर्न भनेको छ।
मन्त्रालयले यसका साथै कार्यालयमा अनुपस्थित, विदेशमा बसोबास गरिरहेका र लामो समयदेखि सम्पर्कविहीन रहेका कर्मचारीहरूको खोजी तथा अध्ययन कार्यलाई पनि तीव्रता दिएको जनाएको छ।
