समाचार

विद्युत् मर्मत टोली चढेको स्कोरपिओ दुर्घटना : दुई कर्मचारीको मृत्यु, एक घाइते

By अर्जुन भट्टराई

विद्युत् मर्मत टोली चढेको स्कोरपिओ दुर्घटना : दुई कर्मचारीको मृत्यु, एक घाइते

विराटनगर । नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रका दुई कर्मचारीको इटहरीमा सवारी दुर्घटनामा मृत्यु भएको छ। सोमबार राति विद्युत् आपूर्ति ठप्प भएपछि मर्मतका लागि हतारमा खटिएका ती कर्मचारी गन्तव्यमा पुग्नुअघि नै दुर्घटनामा परे।

राति ९ बजेर ५४ मिनेटमा दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा समस्या देखिएपछि प्राधिकरणले पेट्रोलिङ तथा मर्मतका लागि टोली पठाएको थियो। धरानबाट इटहरीतर्फ आउँदै गरेको बा १ ञ १६५१ नम्बरको प्राधिकरणको स्कोरपिओ राति करिब ११ बजेर ४० मिनेटमा इटहरी–२० सेउती पुलबाट करिब २०० मिटर दक्षिणमा अनियन्त्रित भएर दुर्घटनामा पर्यो।

दुर्घटनामा स्कोरपिओ चालक धरान–१३ निवासी ३३ वर्षीय बिर्खबहादुर राई र हेल्पर पदमा कार्यरत धरान–१६ निवासी ४९ वर्षीय सुमन आचार्यको मृत्यु भएको छ। गम्भीर घाइते दुवैलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो, तर चिकित्सकले उनीहरूलाई मृत घोषणा गरे।

दुर्घटनामा घाइते भएका प्राधिकरणका ज्यालादारी कर्मचारी धरान–२० निवासी ३२ वर्षीय पदम राईको बिपी प्रतिष्ठानमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ।

प्राधिकरण धरानका प्रमुख हरिराम पोखरेलले टोली मर्मतका लागि निस्किएको तर गन्तव्यमा पुग्नुअघि नै दुर्घटना भएको जानकारी दिए। इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार प्रारम्भिक अनुसन्धानमा गाडी आफैँ अनियन्त्रित भएर दुर्घटना भएको देखिएको छ। मर्मतका लागि हतारमा गइरहेका बेला तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनामा स्कोरपिओ पूर्ण रूपमा क्षतिग्रस्त भएको छ र प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.