काठमाडौं । श्रम संस्कृति पार्टी पाँचथरका उपाध्यक्ष तथा हिलिहाङ दरबार संरक्षणका अभियन्ता हर्कबहादुर योङहाङ लिम्बुले नेपालको राजनीति अब नयाँ मोडमा प्रवेश गरिरहेको दाबी गरेका छन्।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले श्रम संस्कृति पार्टी पूर्वी नेपालमा मात्र सीमित नरहने बताउँदै निकट भविष्यमा हिमाल, पहाड, तराई, मेचीदेखि कालीसम्म विस्तार हुने विश्वास व्यक्त गरे। उनका अनुसार समय र नेपाली जनताको माग पनि यही हो।
योङहाङले भने, ‘एउटा सीमित ठाउँलाई मात्रै कोड गर्नुहुँदैन। समग्रमा नेपालको हिमाल, पहाड, तराई, मेची, काली सबैतिर अब अन्तिम सत्य र तथ्य पनि श्रम संस्कृतिमय हुनुपर्छ।’
उनले वर्तमान समयको आवश्यकता श्रम, स्वदेशी उत्पादन, स्वदेशी प्रयोग, प्रकृति, संस्कृति र प्रविधिमा आधारित राजनीतिक सोच भएको बताए। यही विचारले देशलाई बचाउने र समृद्ध बनाउने उनको तर्क छ।
देशमा भ्रष्टाचार र बेथितिले सीमा नाघेको टिप्पणी गर्दै उनले भविष्यमा नेपालको राजनीति दुई धारमा विभाजित हुने दाबी गरे। उनले भने, ‘आगामी दिनमा दुईवटा जाति र दुईवटा पार्टी मात्रै रहन्छन्। त्यसकै आधारमा मुलुकको भविष्य निर्धारण हुन्छ।’
आर्थिक अवस्थाबारे चिन्ता व्यक्त गर्दै उनले ऋणको भार बढ्दै गएको उल्लेख गरे। देशलाई ऋणमुक्त बनाउन श्रम, स्वदेशी उत्पादन र प्रकृति, संस्कृति तथा प्रविधिको समन्वय अपरिहार्य रहेको उनको भनाइ थियो।
उनले भने, ‘माटोलाई माया गर्न नसक्ने व्यक्ति साँचो अर्थमा देशप्रेमी हुन सक्दैन। खुराफाती गफ दिएर देश बन्दैन, पढ्नु मात्रै सब चिज होइन, चेतना महत्त्वपूर्ण हो।’
पार्टीका अध्यक्ष हर्क साम्पाङको श्रमदान अभियानको खुलेर प्रशंसा गर्दै योङहाङले यसलाई सामाजिक रूपान्तरणको सकारात्मक उदाहरण बताए। उनले भने, ‘पुल बन्यो भने त्यसबाट सबै नेपाली हिँड्छन्, त्यसैले राम्रो कामलाई राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर हेर्नुपर्छ। नेपाल आमाले ढिलो भए पनि हर्क साम्पाङजस्तो साहसी अभियन्ता जन्माएकी छिन्।’
आफू करिब २२–२५ वर्षदेखि सामाजिक अभियानमा सक्रिय रहेको बताउँदै उनले हिलिहाङ दरबार संरक्षण तथा विकासका लागि अनुसन्धान, सरकारी बजेट व्यवस्थापन र पर्यटन प्रवर्द्धनमा भूमिका खेलेको जानकारी दिए। त्यही अनुभवका आधारमा बेथिति सुधार गर्ने उद्देश्यले एक वर्षअघि काठमाडौं छाडेर श्रम संस्कृति पार्टीमार्फत सक्रिय राजनीतिमा लागेको उनले बताए।
व्यक्तिगत, पारिवारिक वा जातीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितमा लाग्नुपर्नेमा जोड दिँदै उनले भने, ‘नेपाल रहे मात्रै हामी रहन्छौँ। स्वदेशी श्रम, उत्पादन र प्रयोगलाई पर्यटन, प्रकृति, संस्कृति र प्रविधिसँग जोड्न सके देशको अर्थतन्त्र बलियो बन्छ र नेपाल समृद्धितर्फ अघि बढ्छ।’
साहित्यिक सिर्जनामा पनि गहिरो रुचि राख्ने योङहाङले साहित्यलाई अनुभव, भावना, साधना र समयको प्रतिबिम्ब भएको बताए। उनका अनुसार साहित्यले समाजलाई परिवर्तन गर्न, बिगार्न वा सुधार्न सक्ने शक्ति हुन्छ। नेपालको इतिहास तथ्यभन्दा बाहिर गएर लेखिएका कारण धेरै भ्रम सिर्जना भएको उनको तर्क थियो। साहित्यले मनोरञ्जन मात्र नभई समाजलाई सन्देश पनि दिनुपर्ने उनको धारणा छ।
