मनोरंजन

प्रिमियरमा ‘गौँथली’ हेरेर भावुक भए दर्शक, सेलिब्रेटीले गरे खुलेर प्रशंसा

By अर्जुन भट्टराई •

प्रिमियरमा ‘गौँथली’ हेरेर भावुक भए दर्शक, सेलिब्रेटीले गरे खुलेर प्रशंसा

काठमाडौँ । आगामी साउन १ गतेदेखि सिनेमाघरमा प्रदर्शन हुन लागेको फिल्म ‘गौँथली’ को प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा उपस्थित सेलिब्रेटी तथा निम्तालु अतिथिहरूले फिल्मको विषयवस्तु, कलाकारको अभिनय र निर्देशकीय पक्षको खुलेर तारिफ गरेका छन् ।

यो फिल्म डाक्टर भोला रिजालले झन्डै २५ वर्षअघि निर्माण गर्नुभएको गीतिकथानकमा संवाद थपेर उहाँकै छोरा डा. कपिल रिजालले निर्देशन गरेका हुन् ।

फिल्म हेरेर निस्किएकी अभिनेत्री संचिता लुइँटेलले भनिन्, ‘सबै कलाकारले आफ्नो पात्रलाई जीवन्त बनाउनुभएको छ । फिल्म हेरिरहँदा सोही परिवेशमा पुगेको महसुस हुन्छ । अरुण र सिम्रनले गरेको कामको जति तारिफ गरे पनि कम नै हुन्छ । सिनेमाघर पुग्ने दर्शकले आँसु रोक्न निकै गाह्रो हुन्छ, किनकि फिल्म नै त्यस्तो बनेको छ ।’ उनले आफ्नो सम्पूर्ण परिवार लिएर फिल्म हेर्न सिनेमाघर जानुपर्ने आग्रह पनि गरिन् ।

कलाकार किरण केसीले भने, ‘कसको तारिफ गर्ने, कसको नगर्ने — त्यसकारण सबैको तारिफ गरेको छु । फिल्म सबै पक्षमा अब्बल बनेको छ, हाम्रो आफ्नै परिवेश र कथामा तयार भएको छ ।’

निर्देशक ओम प्रतीकले फिल्मको पटकथा, संवाद, निर्देशन र कलाकारको अभिनय सबै अब्बल रहेको बताए । निर्देशक मिलन चाम्सले भने, ‘बेलायतमा दन्त चिकित्सकका रूपमा प्रसिद्ध भएर पनि निर्देशक रिजाल नेपाली कला, संस्कृति र फिल्मप्रति जुन समर्पणका साथ लाग्नुभएको छ, त्यो साँच्चै प्रशंसनीय छ । उहाँले नेपाली माटोको भावनात्मक कथालाई निकै सुन्दर तरिकाले पर्दामा उतार्नुभएको छ ।’

सञ्चारकर्मी प्रकाश सुवेदीले फिल्मलाई ‘पूर्ण’ भन्दै सबै पक्षले इमान्दारितापूर्वक काम गरेकोले फिल्म सुन्दर बनेको बताए ।

निर्देशक डा. कपिल रिजाल प्रिमियरमा पाएको प्रतिक्रियाले हर्षित देखिन्थे । उनले भने, ‘फिल्म बुझेकाहरूबाट पाएको प्रतिक्रियाले दंग छौँ, किनकि उहाँहरू दर्शकभन्दा बढी समीक्षककै रूपमा हेर्नुहुन्छ । फिल्मकर्मीको मन जितेपछि अब दर्शकको पनि जित्छु भन्नेमा विश्वस्त छु । बुवाले गर्नुभएको कामलाई संवाद थपेर नयाँ स्वरूपमा ल्याउनु सहज थिएन, तर हामीले मेहनत गरेका छौँ ।’

अभिनेता अरुण क्षेत्रीले भने, ‘मैले सक्दो मेहनत गरेर आफ्नो पात्र ठुलेलाई तयार गरेको थिएँ । आज प्रिमियरमा पाएको प्रतिक्रियाले मलाई बल्ल राम्रो गरे भन्ने महसुस भएको छ । आशा छ, दर्शकलाई पनि ठुले मन पर्छ ।’

फिल्मको कथा एसएलसी पढ्ने सपना बोकेकी एक बालिकाको उमेर नपुग्दै एक असामान्य देखिने युवासँग विवाह हुँदा आउने उतारचढावमा केन्द्रित छ । चिकित्सक तथा साहित्यकार डा. भोला रिजालले आफ्नी श्रीमती सरला रिजालको जीवनयात्रालाई समेटेर तयार गर्नुभएको यही गीतिकथानकलाई यसपटक संवाद थपेर नयाँ स्वरूपमा हलमा ल्याइएको हो । निर्देशक डा. रिजालका लागि यो कथा आफ्नै आमाको जीवनीसँग जोडिएको छ, किनकि उनका पिताले आमासँग बाल्यकालमै विवाह गरेर अध्ययनका क्रममा धेरै समय बाहिर बिताएका थिए ।

फिल्मले ‘अटिजम’ भएका व्यक्तिबारे समाजमा फैलिएको भ्रमलाई तोड्ने निर्देशकको विश्वास छ । फिल्ममा ‘माइल्ड अटिजम’ अर्थात् ‘लेभल १ अटिजम’ भएको युवकको भूमिका निर्वाह गर्ने अभिनेता अरुण क्षेत्रीले भने, ‘प्रस्ताव आउँदा म दोधारमा थिएँ । बिस्तारै बुझ्दै जाँदा थाहा पाएँ — अटिजम भएका व्यक्तिलाई औषधिभन्दा बढी परिवारको माया र साथको खाँचो छ ।’ उनले भूमिका तयार गर्न अटिजम भएका व्यक्तिसँग समय बिताएर परामर्श पनि लिएका थिए ।

फिल्ममा ग्रामीण परिवेशमा अटिजम भएको युवकको भूमिकामा अरुण क्षेत्री र एसएलसी पास गर्ने सपना बोकेकी बालिकाको भूमिकामा सिम्रन खड्का देखिन्छन् । यिनीहरूका साथमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारले अभिनय गरेका छन् ।

डा. भोला रिजालको कथामा आधारित यस फिल्मको संवाद निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका छन् । निर्माता सुमन गिरीले सामाजिक दायित्व बुझेर यो फिल्म निर्माण गरेको बताएका छन् । यसअघि उनले ‘६ एकान ६’, ‘वडा नम्बर ६’ र ‘छक्का पञ्जा’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।

घर, परिवार र आपसी सामीप्यताको प्रतीक बोकेको फिल्म ‘गौँथली’ साउन १ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ । फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् भने डिजिटल पार्टनरको भूमिकामा ‘ओएसआर डिजिटल’ रहेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.