काठमाडौं । माइतीघर मण्डलाको टेन्टमुनि बसेर एक महिला आफ्नो पीडा पोखिरहेकी छन् । आँखामा पीडा र आवाजमा आक्रोश लिएर न्यायको माग गर्दै यहाँ आइपुगेकी उनी हुन् मोरङ सुन्दरहरैचा–७ की देविका खनाल ।
दुर्घटनाले बदलिदियो जीवन
२०८१ साल फागुन २२ गते सुनसरीको रामधुनी नगरपालिका–३ मा भएको एक दुर्घटनाले देविकाको जीवनको बाटो नै फेरिदियो । देविकाका अनुसार दुर्घटना गराउने व्यक्ति इनरुवा नगरपालिका–६ का वडा अध्यक्ष सुमन थापा हुन् । दुर्घटनापछि कम्मरदेखि तलको भागमा गम्भीर चोट लागेको र पटकपटक शल्यक्रिया गरिए पनि पूर्ण रूपमा निको हुन नसकेको उनले बताइन् ।
उनको आरोप छ कि वडा अध्यक्ष थापाले दुर्घटनापछि सुरुमा केही सम्पर्क राखे पनि अहिले उपचार र आवश्यक सहयोगबाट पन्छिएका छन् । जसका कारण आफू अपाङ्ग अवस्थामा पुगेर बेवास्तामा परेको देविकाको गुनासो छ ।
सहारा भनेकै एक्ली छोरी
देविका एकल महिला हुन् । घरको जिम्मेवारी, आफ्नो उपचार र १३ वर्षीया छोरीको भविष्यको चिन्ता उनको काँधमा छ । काम गरेर परिवार चलाउँदै आएकी उनी अहिले अरूको भरमा बाँच्न बाध्य छन् ।
‘म काम गरेर खाने मान्छे हुँ । शरीर नै काम गर्न नसक्ने भएपछि परिवारको अवस्था के हुन्छ, छोरीलाई कसरी पढाउने ?’ उनले प्रश्न गरिन् ।
पाँच लाख अस्वीकार, माग छ न्याय
देविकाले दुर्घटनापछि मिलापत्रका लागि पाँच लाख रुपैयाँको प्रस्ताव आएको थियो भन्ने जानकारी दिइन् । तर उनले उक्त प्रस्ताव अस्वीकार गरिन् ।
‘मेरो जिन्दगी पाँच लाख रुपैयाँ होइन । स्वास्थ्य राम्रो भयो भने आफैं कमाउन सक्छु, तर शरीर नै बिग्रियो भने त्यो पैसाले के गर्छ ?’ उनले भनिन् ।
उनको मुख्य माग उपचार सुनिश्चित गरिनु र दोषीमाथि कानुनी कारबाही हुनु हो ।
सम्झौता भयो, कार्यान्वयन भएन
देविकाका अनुसार गत चैत ३० गते दुई पक्षबीच छलफल भई सहमति जुटेको थियो । सो सहमतिमा अहिलेसम्म लागेको उपचार बिल तिर्ने, वैशाख १० गतेसम्म अस्पताल लगेर पूर्ण उपचार गर्ने र छोरीलाई कक्षा १२ सम्म पढाउने विषय समेटिएको थियो । तर सम्झौता कार्यान्वयन नभएको उनको आरोप छ ।
न्याय पाउन सडकमा
देविकाले जाहेरी दर्ता गर्नदेखि नै समस्या भोग्नुपरेको बताइन् । उच्च अदालत मोरङको आदेशपछि मात्र मुद्दा प्रक्रिया अघि बढेको उनले जानकारी दिइन् ।
‘गरिब र धनीका लागि कानुन एउटै हुनुपर्छ । पैसा र पहुँच भएकाले न्याय पाउने र कमजोर मान्छेले संघर्ष गर्नुपर्ने अवस्था हुनुहुँदैन,’ उनले भनिन् ।
गृहमन्त्रीको आश्वासन, देविकाको प्रतीक्षा
देविकाले गृहमन्त्री सुधन गुरुङले न्याय दिलाउने आश्वासन दिएको र त्यसैको भरोसामा आफू माइतीघरमा बसेको बताइन् ।
‘म विरोध गर्न होइन, न्याय माग्न आएकी हुँ । राज्यले अपराधी र पीडित छुट्याउनुपर्छ । एउटा अपराधीलाई अनुसन्धान गरेर सत्य बाहिर ल्याउनुपर्छ,’ उनले भनिन् ।
उनले थपिन्, ‘म मर्न आएकी होइन, न्याय माग्न आएकी हुँ ।’
देविकाको माग स्पष्ट छ— पूर्ण उपचार, निष्पक्ष अनुसन्धान र न्याय । यता, वडा अध्यक्ष सुमन थापाको पक्षबाट यस विषयमा आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन ।
