समाचार

सिरहा: पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु

By अर्जुन भट्टराई

सिरहा: पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु

सिरहाको गोलबजार नगरपालिका–७, चोहर्वामा रहेको पुरानो पशु हाटबजार परिसरमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको ज्यान गएको छ।

मृत्यु हुनेमा अवास शेखकी १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख रहेका छन्।

रौतहट जिल्लाको जिगरवा घर भएका अवास शेख विगत करिब ३० वर्षदेखि गोलबजार नगरपालिका–७ मा परिवारसहित बसोबास गर्दै आएका थिए। उनी घर भाडामा लिएर कवाडी संकलनको काम गरी गुजारा चलाउँदै आएका थिए।

प्रहरीका अनुसार आइतबार दिउँसो करिब ३ः३० बजे घरबाट खेल्न निस्किएका उनका पाँच सन्तानमध्ये तीन जना पशु हाटबजार परिसरमा रहेको पानी जमेको खाल्डोमा पुगेका थिए। प्रारम्भिक अनुसन्धानअनुसार उनीहरू नुहाउने क्रममा डुबेका हुन्। उक्त खाल्डो गाई, गोरु र भैंसीलगायतका पशुलाई पानी खुवाउने उद्देश्यले बनाइएको बताइएको छ।

घटनापछि नेपाल न्युज बैंकका पत्रकार राहुल राय, स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा तीनै जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकले उनीहरूलाई मृत घोषणा गरे।

घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.