काठमाडौं । नेपाललाई विश्व पर्यटन बजारमा चिनाउने मुख्य आधार हिमाल, प्राकृतिक सौन्दर्य, संस्कृति र साहसिक गतिविधि हुन्। पछिल्लो समय यी परम्परागत आकर्षणसँगै खेल पर्यटन पनि नयाँ सम्भावनाको रूपमा उदाउँदै छ।
खेल हेर्न, खेल्न वा खेलसँग जोडिएका गतिविधिमा भाग लिन गरिने यात्रालाई खेल पर्यटन भनिन्छ। विश्वका धेरै देशले यस क्षेत्रबाट लाखौँ पर्यटक भित्र्याउने र अर्थतन्त्र चलायमान बनाउने गरेका छन्। नेपालमा पनि क्रिकेट, फुटबल, भलिबल र ब्याडमिन्टनजस्ता खेलका गतिविधि बढ्दै जाँदा अर्थतन्त्रमा सकारात्मक असर पर्न थालेको छ। नेपाल प्रिमियर लिग, नेपाल सुपर लिगलगायत व्यावसायिक लिगहरूको सुरुवातले यस सम्भावनालाई थप उजागर गरेको छ। तर पर्याप्त पूर्वाधार, लगानी र योजनाबद्ध प्रवर्द्धनको अभावले नेपालले यस क्षेत्रबाट अपेक्षित लाभ लिन अझै सकेको छैन।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार नेपालमा खेल पर्यटन अझै प्रारम्भिक चरणमा छ। ‘नेपालको कन्टेक्स्टमा स्पोर्ट्स टुरिजम अहिले टेकअफ स्टेजमा पुगिसकेको छैन। यसको ग्राउन्ड वर्क र फाउन्डेसन निर्माण भइरहेको अवस्था हो,’ उनले भने।
राष्ट्रिय खेलकुद प्रतियोगिता र विभिन्न खेल संस्थाले निर्माण गरेका पूर्वाधारले भने खेल पर्यटनको ढोका खोल्न थालेको उनले बताए। थपलियाका अनुसार खेल पर्यटनमा दुई मुख्य पक्ष हुन्छन् — पहिलो, खेलाडी, प्रशिक्षक र अधिकारीहरूको प्रत्यक्ष यात्रा र दोस्रो, खेलले प्रेरित गर्ने यात्रा अर्थात् समर्थक, परिवार र दर्शकको आवतजावत। ‘ठूलो प्रतियोगिता हुँदा खेलाडी मात्र आउँदैनन्, उनीहरूसँग अफिसियल, परिवार, साथी र समर्थकहरू पनि आउँछन्। उनीहरूको बसाइ, होटल, यातायात, खानपान र अन्य गतिविधिले स्थानीय अर्थतन्त्रमा प्रभाव पार्छ,’ थपलियाले भने।
साहसिक खेल पर्यटनमा विशेष सम्भावना
नेपालको भौगोलिक विविधता — हिमाल, पहाड, नदी र प्राकृतिक संरचना — साहसिक खेल पर्यटनका लागि विश्वकै आकर्षक गन्तव्य बन्ने आधार हो। बन्जी जम्प, प्याराग्लाइडिङ, माउन्टेन बाइकिङ, र्याफ्टिङ, ट्रेकिङ, पर्वतारोहण, स्किइङ, अल्ट्रा लाइट फ्लाइट र स्काई डाइभिङजस्ता गतिविधि नेपालका लागि सम्भावनायुक्त क्षेत्र हुन् भनी थपलियाले उल्लेख गरे। ‘हाम्रो भूगोल, हिमाल, पहाड र प्राकृतिक स्रोतले यस क्षेत्रमा ठूलो अवसर दिएको छ,’ उनले भने। हिमाली क्षेत्रमा आयोजना हुने म्याराथन, साइकल दौड वा साहसिक प्रतियोगिताले सहभागीलाई मात्र नभई विश्वभरका पर्यटकलाई पनि आकर्षित गर्न सक्ने उनको भनाइ छ।
खेल पर्यटन र अर्थतन्त्रको सम्बन्ध
नेपाल ब्याडमिन्टन संघका सचिव तथा अन्तर्राष्ट्रिय अम्पायर दीपक थापाका अनुसार खेल पर्यटनले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरै क्षेत्रलाई चलायमान बनाउँछ। ‘एउटा पर्यटक आउँदा होटल, यातायात, रेस्टुरेन्ट, पसल, मनोरञ्जनलगायत धेरै क्षेत्र जोडिन्छन्। एउटा खेलाडी आउँदा पनि उसले गर्ने खर्चले धेरै मानिसको आम्दानीसँग सम्बन्ध राख्छ,’ उनले भने। खेलकुद केवल सम्पन्न देशको मात्र विषय नभई नेपालजस्तो विकासशील देशका लागि पनि अर्थतन्त्र चलायमान बनाउने माध्यम भएको उनले बताए।
पूर्वाधारको अभाव ठूलो चुनौती
नेपालमा खेल पर्यटन विकासको सबैभन्दा ठूलो बाधा पर्याप्त पूर्वाधारको अभाव हो। थापाका अनुसार अन्तर्राष्ट्रिय खेल संघहरूले प्रतियोगिता दिनुअघि खेल पूर्वाधार, होटल सुविधा, सुरक्षा व्यवस्था र व्यवस्थापन क्षमता हेर्छन्। ‘अहिले हामीसँग ठूला प्रतियोगिता गर्न सक्ने पूर्वाधार सीमित छन्। पुराना रंगशाला र कभर्डहलबाट मात्र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न कठिन हुन्छ,’ उनले भने। काठमाडौंलगायत प्रमुख शहरमा जनसंख्या बढे पनि खेल पूर्वाधार पुरानै अवस्थामा रहेको उनको गुनासो छ।
सरकारले खेल पूर्वाधारमा लगानी गरी निजी क्षेत्रलाई आकर्षित गर्ने वातावरण बनाउनुपर्ने थापाको सुझाव छ। कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत पनि यस क्षेत्रमा लगानी भित्र्याउन सकिने उनले बताए। स्थानीय, प्रदेश र संघीय सरकारले सहकार्य गरेर काम गर्नुपर्ने पनि उनले जोड दिए।
नेपाललाई खेल पर्यटन हबका रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय प्रतियोगिताको क्यालेन्डर अग्रिम तयार गरी प्रचार गर्ने, विदेशस्थित नेपाली दूतावासमार्फत प्रवर्द्धन गर्ने र अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा सामग्री निर्मातालाई नेपाल ल्याउने काम आवश्यक रहेको थापाले बताए। उच्च हिमाली म्याराथन, याक अट्याक, साइकल दौड, र्याफ्टिङ, कायकिङ र पर्वतीय खेलले अन्तर्राष्ट्रिय बजारमा राम्रो सम्भावना बोकेको उनले उल्लेख गरे।
खेलकुदले देशको पहिचान विश्वभर पुर्याउने भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने थापाको जोड छ। विज्ञहरूका अनुसार खेल र पर्यटनलाई एउटै रणनीतिमा जोड्न सके नेपालले परम्परागत पर्यटनसँगै खेल पर्यटनबाट पनि ठूलो आर्थिक लाभ लिन सक्छ। त्यसका लागि राज्यको स्पष्ट नीति, पर्याप्त लगानी, अन्तर्राष्ट्रियस्तरको पूर्वाधार र प्रभावकारी प्रचार अपरिहार्य छ।
