अर्थ

४२ वर्षमा नबिल बैंकले सरकारलाई बुझायो २८ अर्ब ३३ करोड बढी आयकर

By अर्जुन भट्टराई

४२ वर्षमा नबिल बैंकले सरकारलाई बुझायो २८ अर्ब ३३ करोड बढी आयकर

काठमाडौं । नेपालको अग्रणी निजी वाणिज्य बैंकका रूपमा चिनिने नबिल बैंकले आफ्नो स्थापनाकालदेखि हालसम्म सरकारलाई जम्मा २८ अर्ब ३३ करोड ५१ लाख ६० हजार रुपैयाँ आयकर बुझाएको छ।

बैंकले सार्वजनिक गरेको विवरणअनुसार सन् २०२४/२५ सम्मको यो तथ्यांकले नबिल बैंकको कर योगदान वर्षेनी उल्लेख्य रूपमा बढ्दै गएको देखाउँछ। सुरुका वर्षहरूमा केही लाख रुपैयाँमा सीमित रहेको वार्षिक आयकर अहिले अर्बको स्तरमा पुगेको छ।

आर्थिक वर्ष २०२४/२५ मा मात्रै बैंकले करिब २ अर्ब ९७ करोड ४९ लाख ७० हजार रुपैयाँ आयकर तिरेको छ, जुन यहाँसम्मकै सबैभन्दा बढी वार्षिक कर योगदान हो।

नबिल बैंकले आन्तरिक राजस्व विभागबाट आठ आर्थिक वर्षमा ‘सर्वाधिक करदाता’ सम्मान पनि पाइसकेको छ। आर्थिक वर्ष २०१०/११, २०१३/१४, २०१४/१५, २०१६/१७, २०१८/१९, २०१९/२०, २०२०/२१ र २०२२/२३ मा बैंकले यो प्रतिष्ठित पुरस्कार हासिल गरेको हो।

बैंकका अनुसार नियमित रूपमा उच्च कर तिर्नु संस्थागत सुशासन, दिगो नाफा र राष्ट्रिय अर्थतन्त्रप्रतिको उत्तरदायित्वको प्रमाण हो। निजी क्षेत्रको बैंकिङ उद्योगमा कर योगदानको हिसाबले नबिल बैंकले अग्रणी स्थान कायम राखेको बैंकले जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.