इलाम । पूर्वी पहाडी जिल्लाहरूको जीवनरेखा मानिने मेची राजमार्गको इलाम–राजदुवाली खण्ड पूर्ण रूपमा अवरुद्ध छ। लगातार वर्षा र निरन्तर जमिन भासिने क्रमले इलाम सदरमुकामसहित माथिल्ला क्षेत्रहरू तराई र जिल्लाका अन्य भूभागबाट विच्छेद भई ‘टापु’ जस्तो बनेका छन्।
सडकको स्तरोन्नति तथा निर्माण कार्य समयमा नसकिनु र यस वर्ष फागुन महिनादेखि नै निरन्तर वर्षा भइरहेकाले असारको सुरुवातदेखि राजदुवाली पहिरोले उग्र रूप लिएको हो। राजमार्ग बन्द हुँदा इलाम, पाँचथर र ताप्लेजुङसहित मेची पहाडका लाखौँ नागरिक प्रत्यक्ष प्रभावित भएका छन्।
**मन्त्रीको निर्देशन कार्यान्वयन भएन**
राजदुवाली क्षेत्रमा जमिन भासिने क्रम रोकिएको छैन। सामान्य वर्षामा पनि पहिरो खस्ने र हिलो जम्ने भएकाले सवारी साधन गुड्न सक्ने अवस्था छैन। केही समयअघि पूर्वाधार विकासमन्त्री सुनील लम्सालले स्थलगत निरीक्षण गर्दै बर्खायाममा पनि यातायात सेवा सञ्चालन गर्न मातहतका निकायलाई कडा निर्देशन दिएका थिए। तर, मन्त्रीको निर्देशनपछि पनि सडक खुलाउने र मर्मत गर्ने कार्यले गति लिन नसक्दा नागरिकले सास्ती भोग्नुपरेको स्थानीय समाजसेवी ईश्वर चिपालुको गुनासो छ।
**वैकल्पिक मार्गहरू पनि ठप्प**
मुख्य राजमार्ग बन्द हुँदा वैकल्पिक मार्गको खोजी गरिएको थियो, तर ती सडकहरूको अवस्था झनै नाजुक छ। वैकल्पिक मार्गका रूपमा हेरिएको मेची करिडोर पूर्ण अवरुद्ध छ। अघिल्लो वर्षको असोजमा आएको विनाशकारी बाढीले क्षति पुर्याएपछि हिउँदभर डाइभर्सन बनाएर मेची करिडोरमा गाडी चलाइएको थियो, तर बर्खा सुरु भएसँगै पुवाखोलाको बाढीले त्यो डाइभर्सन बगाएको छ। बेलासीमा बेलिब्रिज जडान गरिए पनि पुवाखोलामा काम सुरु नहुँदा यो मार्ग बन्द छ। बेलासे–भञ्ज्याङ सडक पनि हिलाम्मे र जीर्ण अवस्थामा रहेकाले तत्काल सहज यातायातको सम्भावना देखिँदैन।
त्यस्तै तिल्केनी–सिमल गोलाई सडक पनि पूर्ण ठप्प छ। जोगमाई खोलामा रहेको बेलिब्रिज गत वर्षकै बाढीले बगाएको थियो। त्यसपछि पटक–पटक अस्थायी डाइभर्सन बनाइए पनि बाढीले बगाउने गरेको छ। त्यहाँ बेलिब्रिज जडान गर्ने योजना भए पनि आर्थिक वर्षको अन्त्यसम्म पनि काम सुरु हुन सकेको छैन। सडक डिभिजन कार्यालयले मन्त्रालयबाट बेलिब्रिज आउने बताए पनि कहिले आइपुग्ने भन्नेमा कार्यालय नै अनभिज्ञ रहेको र राजदुवाली खण्ड पनि तत्काल सञ्चालनमा ल्याउन नसकिने बताएको छ।
**अत्यावश्यक सामग्री अलपत्र, बिरामीको ज्यान जोखिममा**
वैकल्पिक सडकहरू एकैसाथ बन्द भएपछि इलाम, पाँचथर र ताप्लेजुङतर्फ जाने मालवाहक सवारी साधनहरू बाटोमै रोकिएका छन्। तराईबाट खाद्यान्न, तरकारी, एलपी ग्याँस र औषधि जस्ता अत्यावश्यक सामग्री बोकेर आएका सवारी साधनहरू राजदुवाली मुनिको क्षेत्रमा अलपत्र परेको उद्योग वाणिज्य संघ इलामका अध्यक्ष कृष्ण पौडेलले बताए। सडक लामो समय बन्द रहेमा बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन सक्ने उनको भनाइ छ।
सबैभन्दा गम्भीर असर झापा वा विराटनगर रिफर गरिने बिरामीमाथि परेको छ। एम्बुलेन्ससमेत आवतजावत गर्न नपाउँदा बिरामीको ज्यान जोखिममा पर्ने स्थिति आएको छ। स्थानीय सरोकारवालाहरूले सडक डिभिजन, प्रदेश सरकार र संघ सरकारलाई तत्काल मेची राजमार्ग खुलाउन र वैकल्पिक मार्गहरूमा युद्धस्तरमा काम गर्न माग गरेका छन्।
