अर्थ

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड : निःशुल्क एम्बुलेन्स, स्मार्ट सिटी र सम्पदा संरक्षणमा जोड

By अर्जुन भट्टराई

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड : निःशुल्क एम्बुलेन्स, स्मार्ट सिटी र सम्पदा संरक्षणमा जोड

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक भएको यो बजेटमा स्वास्थ्य, शिक्षा, पूर्वाधार, सम्पदा संरक्षण, सरसफाइ, प्रविधि र सहरी सुरक्षालाई प्राथमिकतामा राखिएको छ।

कुल बजेटमध्ये पुँजीगत खर्चमा ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ (५७ प्रतिशत), प्रशासनिक खर्चमा १ अर्ब ४५ करोड २१ लाख ५३ हजार रुपैयाँ (१९ प्रतिशत) र सामाजिक सुरक्षा तथा सशर्त अनुदानमा १ अर्ब ७९ करोड ९७ लाख रुपैयाँ (२४ प्रतिशत) विनियोजन गरिएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ मा कुल खर्च प्रगति ६८ प्रतिशत पुगेको महानगरले जनाएको छ। पुँजीगत खर्चको वित्तीय प्रगति ६०.४५ प्रतिशत र भौतिक प्रगति ७५ प्रतिशत रहेको छ। राजस्व संकलन ७५.३१ प्रतिशत र बेरुजु ०.४४ प्रतिशत मात्र रहेको महानगरको दाबी छ।

स्वास्थ्य क्षेत्रमा आगामी वर्षदेखि चिकित्सक, आवश्यक औषधि र उपकरणसहितको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिनेछ। ६८ वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई निमोनिया र इन्फ्लुएन्जाविरुद्धको निःशुल्क खोप दिइनेछ। महिलामा हुने पाठेघरको मुख तथा स्तन क्यान्सरको स्क्रिनिङ र उपचार सेवा विस्तार गरिनेछ भने कोलोन क्यान्सर परीक्षण सेवा पनि नयाँ रूपमा सुरु हुनेछ। ‘ज्येष्ठ नागरिकसँग महानगर स्वास्थ्य सेवा’ कार्यक्रमलाई अटिजम तथा अपांगता भएका व्यक्तिसम्म विस्तार गर्ने योजना पनि छ।

ललितपुरलाई उज्यालो र सुरक्षित शहर बनाउन नेपाल विद्युत प्राधिकरणको सहकार्यमा स्मार्ट स्ट्रिट लाइट र हाई मास्ट लाइट जडान जारी राखिनेछ। कुपण्डोलदेखि जावलाखेलसम्म सञ्चालित इन्टेलिजेन्ट ट्राफिक लाइट प्रणालीलाई हरिसिद्धि, युङ्गमती, कानदेवतास्थान, सानेपा, सान्तभवन, धोबिघाट र एकान्तकुनासम्म विस्तार गरिनेछ। सडक दुर्घटना घटाउन अटोमेटेड स्मार्ट बुम जडान गरी ट्राफिक लाइटसँग जोड्ने योजना पनि अघि सारिएको छ। स्मार्ट स्ट्रिट लाइट भएका क्षेत्रमा नेपाल प्रहरीको सहयोगमा सीसीटीभी जडान पनि जारी रहनेछ।

सम्पदा संरक्षणतर्फ सप्तपाताल पोखरी पुनर्निर्माण सम्पन्न गरी सर्वसाधारणका लागि खुला गर्ने र कमलपोखरी निर्माणका लागि बजेट व्यवस्था गरिएको छ। राजकुलो, ढुंगेधारा, इनार, पोखरी र पुराना सम्पदाको संरक्षण तथा पुनर्निर्माण जारी राखिनेछ। हिरण्यवर्ण महाविहार, भूरेश्वर मन्दिर, मरु मन्दिर र रुद्रायणी मन्दिरलगायत पुनर्निर्माण हुन बाँकी सम्पदाका लागि पनि बजेट छुट्याइएको छ।

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकसँग कार्यसम्पादन करार गरिनेछ र विद्यालय तहको सिकाइ उपलब्धिमा कम्तीमा ५ प्रतिशत सुधारको लक्ष्य राखिएको छ। एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार दिने परम्परा जारी रहनेछ। ‘एक विद्यालय एक सम्पदा संरक्षण’ र ‘हरित विद्यालय’ कार्यक्रम पनि सञ्चालन गरिनेछ।

फोहोरमैला व्यवस्थापनका लागि अस्थायी ट्रान्सफर स्टेसन थप गरिनेछ, जीपीएस प्रणालीसहितको फोहोर संकलन लागू गरिनेछ र घरघरमै कुहिने तथा नकुहिने फोहोर छुट्याउने व्यवस्था मिलाइनेछ। ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउँदै वातावरणमैत्री झोला उत्पादनलाई प्रोत्साहन गरिनेछ। ग्राउन्ड वाटर रिचार्ज अभियान पनि सञ्चालन हुनेछ।

आर्थिक ऐनमार्फत महानगरले विभिन्न कर छुटको व्यवस्था गरेको छ। चालु आर्थिक वर्षको सम्पत्ति कर र भूमिकर असोज मसान्तभित्र बुझाएमा १० प्रतिशत छुट पाइनेछ। नवीकरण हुन बाँकी उद्योग व्यवसायले तोकिएको अवधिमा बक्यौता तिरेमा जरिवानामा छुट दिइनेछ। महिला, दलित तथा अपांगता भएका व्यक्ति वा समूहले व्यवसाय दर्ता गर्दा ५० प्रतिशत छुट पाउनेछन्।

ललितपुरलाई सुरक्षित, व्यवस्थित, सम्पदा संरक्षणयुक्त, प्रविधिमैत्री र आईटी हबका रूपमा विकास गर्ने लक्ष्यसहित यो बजेट कार्यान्वयनमा ल्याइने महानगरले जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.