समाचार

मन्त्रीको निर्देशनपछि कोशी अस्पतालको अतिक्रमित जग्गामा डोजर चल्यो, ३२ सटर भत्किए

By अर्जुन भट्टराई

मन्त्रीको निर्देशनपछि कोशी अस्पतालको अतिक्रमित जग्गामा डोजर चल्यो, ३२ सटर भत्किए

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको जग्गा अतिक्रमण गरी बनाइएका व्यावसायिक संरचनाहरू सोमबार बिहान भत्काइए। मन्त्रालयको निर्देशन र अस्पताल प्रशासनले दिएको सातदिने अल्टिमेटमको म्याद सकिएसँगै तीनवटा डोजर प्रयोग गरी एक घण्टाभित्रै ३२ वटा व्यावसायिक सटर भत्काइयो।

अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुईटेलका अनुसार देवकोटा पुस्तकालय, नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था र गणेश मन्दिर समितिले भाडामा दिएका २६ वटा र अस्पतालकै स्वामित्वका ६ वटा गरी जम्मा ३२ वटा सटर भत्काइएका हुन्।

‘मन्त्रालयको निर्देशनअनुसार यी संरचना हटाइएको हो। अब यस क्षेत्रमा कम्पाउन्ड वाल निर्माण गरेर सुरक्षित बनाइनेछ,’ लुईटेलले जानकारी दिए।

अस्पताल प्रशासनले सात दिनभित्र संरचना खाली गर्न सार्वजनिक सूचना जारी गरेपछि व्यवसायीहरूले शनिबारदेखि नै आफ्ना सटर खाली गर्न थालेका थिए। कारबाहीका क्रममा सम्भावित अवरोध रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

घटनास्थलमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवाललगायत सुरक्षा अधिकारीहरू उपस्थित थिए। एसपी कटवालले अस्पतालको जग्गा अस्पतालकै प्रयोजनमा उपयोग गर्ने उद्देश्यले यो कारबाही गरिएको बताए।

वर्षौंदेखि नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले अस्पतालको जग्गामा स्थायी संरचना बनाएर औषधि पसल, क्लिनिक तथा अन्य व्यवसायलाई भाडामा दिँदै आएका थिए। अस्पतालले आफ्नो गुरुयोजना कार्यान्वयनका लागि लामो समयदेखि यी संरचना हटाउन पहल गर्दै आएको थियो।

गत असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले अस्पतालको स्थलगत अनुगमन गर्दै अतिक्रमित संरचना हटाउन निर्देशन दिएका थिए। त्यही निर्देशनको पालना गर्दै सोमबार कारबाही अगाडि बढाइएको हो।

उल्लेखनीय छ कि भत्काउने कार्य केवल व्यावसायिक प्रयोजनका सटरहरूमा मात्र सीमित राखिएको छ। नेपाल क्षयरोग निवारण संस्था, ब्लड बैंक, देवकोटा पुस्तकालय र गणेश मन्दिरका मूल संरचनाहरू भने तत्कालका लागि यथावत् राखिएका छन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.