समाचार

‘गौँथली’मा अरुण क्षेत्रीको सबैभन्दा कठिन भूमिका : माइल्ड अटिजम पात्रमार्फत समाजलाई ऐना देखाउने प्रयास

By अर्जुन भट्टराई

‘गौँथली’मा अरुण क्षेत्रीको सबैभन्दा कठिन भूमिका : माइल्ड अटिजम पात्रमार्फत समाजलाई ऐना देखाउने प्रयास

काठमाडौं। आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘गौँथली’ अहिले प्रचार–प्रसारको चरणमा छ। मुख्य अभिनेता अरुण क्षेत्री यतिबेला यही चलचित्रको प्रचारमा व्यस्त छन्। करिब एक दशकदेखि अभिनयमा सक्रिय क्षेत्रीका लागि ‘गौँथली’ केवल अर्को चलचित्र होइन, यो उनको अभिनय यात्राकै सबैभन्दा कठिन र जिम्मेवार परियोजना बनेको छ।

आफ्नो अभिनय यात्राको प्रेरणाबारे क्षेत्री भन्छन्, ‘स्वर्गीय श्रीकृष्ण सर, राजेश दाई, निखिल दाई, विराज दाई— सबैले प्रेरणा दिनुभएको छ। उहाँहरूजस्ता सफल कलाकारसँग काम गर्ने अवसर पाउँदा सुरुमा दबाब महसुस भएको थियो, तर उहाँहरूले धेरै सिकाउनुभयो र त्यसपछि काम सहज बन्दै गयो।’

फिल्म एकेडेमी र नृत्यको पृष्ठभूमिबाट आएका क्षेत्रीले सुरुमा नृत्यप्रधान चलचित्रमार्फत आफ्नो अभिनय यात्रा थालेका थिए। ‘महापुरुष’ उनको प्रदर्शन भएको पहिलो चलचित्र बने पनि त्यसअघि उनले दुई चलचित्रमा अभिनय गरिसकेका थिए। अडिसन हुँदै अवसर पाउँदै आएका उनी अहिले नेपाली चलचित्र उद्योगमा स्थापित कलाकारका रूपमा परिचित छन्।

‘गौँथली’ले एउटा युवतीको सपना र आकांक्षालाई परिवार तथा समाजले कसरी दबाउँछ भन्ने विषय उठाएको छ। साथै शिक्षाको महत्व, सामाजिक सोच र फरक क्षमता भएका व्यक्तिप्रतिको दृष्टिकोणलाई पनि समानान्तर रूपमा प्रस्तुत गरिएको छ। चलचित्रमा अरुणले माइल्ड अटिजम भएका एक युवाको भूमिका निर्वाह गरेका छन्, जसलाई उनी आफ्नो करिअरकै सबैभन्दा चुनौतीपूर्ण भूमिका मान्छन्।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा क्षेत्री भन्छन्, ‘गौँथलीमा सिम्रन खड्काले राम्रो अभिनय गर्नुभएको छ। फिल्ममा एक छोरीको सपना र इच्छालाई घरबाटै कसरी दबाउन सुरु गरिन्छ भन्ने मुख्य रूपमा देखाउन खोजिएको छ। फरक दृष्टिकोण भएका व्यक्तिको नजरबाट समाज कस्तो देखिन्छ भन्ने पनि चलचित्रले देखाएको छ।’

आफ्नो पात्रको कठिनाइबारे उनी थप्छन्, ‘मेरो भूमिका एकदम गाह्रो र संवेदनशील थियो। अटिजम भएको पात्र बुझ्न र निभाउन निकै चुनौतीपूर्ण थियो। सुरुमा कठिन भए पनि अन्तमा यो मेरो सबैभन्दा बढी इन्जोय गरेको पात्र बन्न पुग्यो।’

सुरुमा उनलाई अटिजम भएका सबै व्यक्तिको व्यवहार उस्तै हुन्छ भन्ने लागेको थियो। तर अनुसन्धान र प्रत्यक्ष अवलोकनपछि त्यो सोच पूर्ण रूपमा बदलिएको उनी बताउँछन्। पात्रका लागि क्षेत्रीले लामो तयारी गरे— अटिजम भएका बालबालिका र वयस्कसँग समय बिताए, उनीहरूको व्यवहार नजिकबाट अध्ययन गरे र विस्तृत अनुसन्धानसमेत गरे।

छायाङ्कनका पहिला दुई दिन संवादभन्दा बढी शरीरको हाउभाउमा केन्द्रित रहेका क्षेत्रीले करिब एक सातापछि मात्रै पात्र पूर्ण रूपमा समातेको अनुभव सुनाए। त्यसपछि भने अभिनय निकै सहज र रमाइलो भएको उनको भनाइ छ।

उनका अनुसार ‘गौँथली’ले दर्शकमाझ एउटा गम्भीर प्रश्न राख्छ— ‘हामी आफूलाई सामान्य भन्छौँ, तर साँच्चै सामान्य हामी नै छौँ त?’ उनी भन्छन्, ‘हामी धेरै कुरा फिल्टर गरेर बोल्छौँ। मनमा एउटा हुन्छ, व्यवहारमा अर्को। तर यो पात्रको मन सफा छ, जे महसुस गर्छ त्यही अभिव्यक्त गर्छ। यही निष्कपटपनले मलाई यो पात्रतर्फ आकर्षित गर्यो।’

उनले थपे कि यस्तो संवेदनशील पात्रलाई गलत ढंगले प्रस्तुत गरिएको खण्डमा सम्बन्धित समुदायप्रति अन्याय हुने जोखिम थियो, यसैले उनले पात्रलाई अत्यन्त जिम्मेवारीका साथ निभाएका हुन्।

क्षेत्री चलचित्रलाई मनोरञ्जनसँगै सामाजिक परिवर्तनको प्रभावकारी माध्यम मान्छन्। उनी भन्छन्, ‘समाजका हरेक समुदायका कथा पर्दामा आउनुपर्छ। फरक विषयमा जति धेरै चलचित्र बन्छन्, समाजमा त्यति नै छिटो सकारात्मक परिवर्तन आउँछ।’ उनले एलजीबीटीक्यू समुदाय, फरक क्षमता भएका व्यक्ति वा जनावरप्रतिको समाजको दृष्टिकोण परिवर्तन गर्न पनि चलचित्रले ठूलो भूमिका खेलेको उल्लेख गरे।

नेपाली चलचित्र उद्योगबारे उनी भन्छन् कि अहिले राम्रो प्रविधि, दक्ष प्राविधिक र गुणस्तरीय कथामा आधारित चलचित्र बन्न थालेका छन् र उद्योग विगतको तुलनामा धेरै सशक्त बनेको छ।

दर्शकलाई आग्रह गर्दै उनले भने, ‘यो चलचित्रले धेरै कुरा सोच्न बाध्य बनाउँछ। हाँस्न, भावुक हुन र केही सिक्न पनि प्रेरित गर्छ। त्यसैले साउन १ गतेदेखि नजिकको हलमा गएर गौँथली हेर्नुहोस्।’

निर्देशक डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली देखिएका छन्।

डा. भोला रिजालको कथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद निर्देशक कपिल रिजालसँगै निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले लेखेका हुन्। संगीत शम्भुजीत बास्कोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको छ भने छायाङ्कन हरि हुमागाईँ, सम्पादन मिलन श्रेष्ठ र कोरियोग्राफी रामजी लामिछाने र मौसम हिमालीको रहेको छ।

उल्लेखनीय छ कि दुई दशकअघि डा. भोला रिजालले निर्माण गरेको ‘गौँथली’ नेपालको पहिलो ‘गीति चलचित्र’का रूपमा परिचित थियो। यसपटक सोही नाममा निर्देशक डा. कपिल रिजालले नयाँ पुस्ताका दर्शकमाझ फरक प्रस्तुति र समसामयिक सामाजिक विषयसहित चलचित्र ल्याएका हुन्। चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले गर्नेछन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.