काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेपछि निधन भएका गणेश नेपालीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा निधन भएका गणेशको परिवार र सरकारबीच आइतबार सम्झौता भएपछि परिवारले सोमबार शव बुझे र त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार सम्पन्न गरियो।
घटनाको पृष्ठभूमिमा जाँदा, असार २५ गते राहदानी विभागअगाडि महानगर प्रहरीले गणेशको मोटरसाइकलमा ह्विल लक लगाएका थिए। सोही घटनापछि आक्रोशित गणेशले आत्मदाह प्रयास गरेका थिए र वीर अस्पतालमा उपचार जारी रहँदा शुक्रबार उनको मृत्यु भएको थियो।
