समाचार

मकवानपुरमा बाढीले ट्रक बगायो, चालक पौडिएर ज्यान जोगाए

By अर्जुन भट्टराई

मकवानपुरमा बाढीले ट्रक बगायो, चालक पौडिएर ज्यान जोगाए

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ हटियामा रहेको कर्रा खोलामा आएको बाढीले खाली ट्रक बगाएको छ। यस घटनामा ट्रक चालकले आफैँ पौडिएर बाहिर निस्कन सफल भएका छन्।

प्रहरीका अनुसार सोमबार बिहान करिब ७ः४५ बजे शिवम् सिमेन्ट फ्याक्ट्री नजिकको कल्भर्टमा पानीको बहाव अचानक बढ्यो। त्यही बेला सिमेन्ट फ्याक्ट्रीमा ढुङ्गा अनलोड गरी फर्कँदै गरेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक बाढीको तीव्र बहावले बगाइदियो।

ट्रकमा चितवनको रत्ननगर नगरपालिका–१३ का ३४ वर्षीय चालक दीपक थिङ थिए। उनी पनि ट्रकसँगै खोलामा बगे, तर आफ्नो सूझबुझ र साहसका भरमा पौडिएर बाहिर निस्कन सफल भए। यद्यपि यस क्रममा उनको खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

घटनाको खबर पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगी उद्धार तथा आवश्यक व्यवस्थापनमा जुट्यो। घाइते दीपक थिङलाई उपचारका लागि हेटौँडा–चौघडास्थित राजु मेडिकलमा पठाइएको छ।

प्रहरीका अनुसार यस घटनामा अन्य कुनै मानवीय क्षति भएको छैन। खोलामा डुबेको ट्रक निकाल्न पहल भइरहेको जनाइएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.