समाचार

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती देश-विदेशमा मनाइँदै

By अर्जुन भट्टराई

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती देश-विदेशमा मनाइँदै

काठमाडौं । नेपाली भाषा, साहित्य र संस्कृतिमा अतुलनीय योगदान पुर्‍याएका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

नेपाली साहित्यका प्रथम कविका रूपमा सम्मानित भानुभक्त आचार्यले संस्कृत भाषामा लेखिएको महाकाव्य ‘रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी नेपाली समाजलाई अमूल्य साहित्यिक उपहार दिएका थिए। उनले सरल र सहज नेपाली शैलीमा प्रस्तुत गरेको रामायण आज पनि उत्तिकै लोकप्रिय छ। नेपालीका घरघरमा धार्मिक तथा सांस्कृतिक अवसरमा रामायण सस्वर पाठ गर्ने परम्परा अझै कायम छ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरे। उनको योगदानकै कारण नेपाली भाषा साहित्यिक अभिव्यक्तिको बलियो माध्यमका रूपमा स्थापित भएको मानिन्छ।

नेपालको भौगोलिक एकीकरण पृथ्वीनारायण शाहले गरेको भए पनि भाषा, साहित्य र संस्कृतिका माध्यमबाट नेपाली समाजलाई भावनात्मक रूपमा जोड्ने काम आदिकवि भानुभक्तले गरेको साहित्यकारहरू बताउने गर्छन्। उनका सिर्जनाले नेपाली समाजमा एकता, संस्कार र सांस्कृतिक चेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको छ।

भानुभक्तलाई नेपाली भाषामा रामायण लेख्न प्रेरित गर्ने प्रसंग पनि नेपाली साहित्यमा चर्चित छ। भनिन्छ, एक सामान्य घाँसीले ‘जन्म लिएपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भन्ने सुझाव दिएपछि उनले समाजका लागि अमर कृति सिर्जना गर्ने प्रेरणा पाएका थिए।

रामायणबाहेक भानुभक्तले ‘बधूशिक्षा’ र ‘प्रश्नोत्तर’ लगायतका महत्वपूर्ण कृति पनि सिर्जना गरेका छन्। उनका रचनाले नेपाली समाजको भाषा, संस्कृति र जीवनशैलीलाई जीवन्त रूपमा प्रतिबिम्बित गर्छन्।

उनको योगदानको सम्मानस्वरूप हरेक वर्ष असार २९ गते भानुजयन्ती मनाउने गरिन्छ। यस अवसरमा साहित्यिक गोष्ठी, कविता वाचन, सांस्कृतिक कार्यक्रम तथा विभिन्न रचनात्मक गतिविधि आयोजना गरी आदिकवि भानुभक्त आचार्यको योगदानलाई स्मरण गरिन्छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.