अर्थ

स्टार्टअपलाई राष्ट्र निर्माणको आधार बनाउनुपर्छ : काठमाडौं संवाद कार्यक्रम

By अर्जुन भट्टराई

स्टार्टअपलाई राष्ट्र निर्माणको आधार बनाउनुपर्छ : काठमाडौं संवाद कार्यक्रम

काठमाडौं । नेपालमा आर्थिक रूपान्तरणका लागि स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई विकासको मुख्य आधार बनाउनुपर्ने आवाज उठेको छ।

शनिबार काठमाडौंमा ‘राष्ट्र निर्माणमा स्टार्टअपहरूको भूमिका : नयाँ सरकार र चाल्नुपर्ने कदमहरू’ विषयक राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न भयो। इन्टरप्रेन्योर्स क्लब ग्लोबल नेपाल च्याप्टर र स्टार्टअप हब नेपाल–वल्र्ड ट्रेड ग्रुपले संयुक्त रूपमा यो कार्यक्रम आयोजना गरेका थिए।

कार्यक्रममा रास्वपाका नेताहरू, उद्यमी, स्टार्टअप संस्थापक, लगानीकर्ता, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, विकास साझेदार, शिक्षाविद् तथा उद्योग क्षेत्रका अगुवाहरू सहभागी थिए।

वक्ताहरूले रोजगारी सिर्जना, लगानी आकर्षण, निजी क्षेत्रको प्रवर्द्धन र युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए। यसका साथै स्टार्टअपमैत्री नीति निर्माण, लगानी वातावरण सुधार, कर प्रणाली सहज बनाउने, वित्तीय पहुँच विस्तार गर्ने र कानुनी तथा नीतिगत सुधारलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव पनि प्रस्तुत गरिए।

आयोजकका अनुसार यो कार्यक्रम केवल छलफलमा सीमित नभई सरकारलाई व्यावहारिक र कार्यान्वयनयोग्य सुझाव दिने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रममा उठेका सुझावहरू संकलन गरी सम्बन्धित निकायमा सिफारिसका रूपमा पेस गरिने जनाइएको छ।

इन्टरप्रेन्योर्स क्लबका अध्यक्ष तथा स्टार्टअप हब नेपालका फाउन्डर डा. शम्भु पोखरेलले यस्ता संवाद कार्यक्रमले नेपालमा उद्यमशीलता र नवप्रवर्तनको वातावरण निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। सहभागीहरूले युवालाई उद्यमशीलतामार्फत राष्ट्र निर्माणमा जोड्दै नेपाललाई क्षेत्रीय नवप्रवर्तन केन्द्रका रूपमा विकास गर्न सरकार, निजी क्षेत्र, वित्तीय संस्था, शैक्षिक क्षेत्र र विकास साझेदारबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.