काठमाडौं । रूपन्देहीको मायादेवी गाउँपालिका-६ गुरबनियाबाट शुक्रबार राति प्रहरीले लागूऔषध कारोबार गर्दै गरेका तीन जनालाई पक्राउ गरेको छ। उनीहरूसँग १ थान पेस्तोल, २ राउण्ड गोली र करिब २०० ग्राम खैरो हेरोइन बरामद भएको छ।
पक्राउ पर्नेहरूमा लुम्बिनी साँस्कृतिक नगरपालिका-४ बस्ने २४ वर्षीय साराजुद्दिन मुसलमान, भारतको उत्तरप्रदेश घर भएका ५० वर्षीय ईकवाल खान र भारतको साधुनगर पोष्ट, चतरा थाना, शोहरतगढ, सिदार्थनगर घर भएका ३४ वर्षीय राम दयाल शर्मा रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई हेरोइन किनबेच गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिन खोज्दा उनीहरू मध्ये एक जनाले पेस्तोल निकालेर प्रहरीलाई ताकेका थिए। आत्मरक्षाका लागि प्रहरीले प्रत्युत्तरमा गोली चलाउँदा ईकवाल खान घाइते भए। उनलाई भैरहवाको भीम अस्पतालमा उपचार गरी डिस्चार्ज गरिएको छ।
प्रहरीले तीनै जनाको साथमा रहेको युपी ३६ जेड ३१५८ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ। यस घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ।
