समाचार

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पाँच जना काठमाडौंबाट पक्राउ

By अर्जुन भट्टराई

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पाँच जना काठमाडौंबाट पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा विदेश पठाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

आकर्षक तलबको लोभ देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै पीडितहरूबाट रकम असुलेको अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले यो कारबाही गरेको हो।

पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ बस्ने सिन्धुलीका ३६ वर्षीय कुनसाङ लामा, तारकेश्वर नगरपालिका-८ बस्ने बर्दियाका ४२ वर्षीय धन बहादुर शाही, टोखा नगरपालिका-५ बस्ने ताप्लेजुङका ४८ वर्षीय उमेश लिम्बु, काठमाडौं महानगरपालिका-३ बस्ने तनहुँकी २१ वर्षीया सचिता परियार र बुढानिलकण्ठ नगरपालिका-१० बस्ने खोटाङका ४१ वर्षीय निरोज राई रहेका छन्।

प्रहरीका अनुसार कुनसाङले युएई पठाइदिन्छु भन्दै एक पीडितबाट २ लाख ७ हजार रुपैयाँ र धन बहादुरले जर्जिया पठाइदिन्छु भन्दै एक पीडितबाट २ लाख ९५ हजार रुपैयाँ ठगी गरेका थिए। त्यसैगरी उमेशले बेलारूस पठाइदिन्छु भन्दै एक पीडितबाट ५ लाख रुपैयाँ, सचिताले रोमानिया पठाइदिन्छु भन्दै एक पीडितबाट १ लाख ५० हजार रुपैयाँ र निरोजले टर्की पठाइदिन्छु भन्दै दुई पीडितबाट ७ लाख ९० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीको आधारमा कुनसाङ र धन बहादुरलाई बिहीबार र बाँकी तीन जनालाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका पाँचैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.