काठमाडौं । राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको निवासमा पुर्याएको छ। तर प्रहरीले स्पष्ट गरेको छ कि उनलाई पक्राउ गरिएको होइन।
प्रसाईँले झापाबाट काठमाडौं फर्किएपछि विमानस्थलमै सुकुम्बासी समस्या, आत्मदाहका घटना, गरिब तथा पीडित नागरिकको अवस्था लगायत समसामयिक राष्ट्रिय विषयमा विशेष सम्बोधन कार्यक्रम गर्ने घोषणा गरेका थिए। तर विमानस्थल पुग्नासाथ काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईको टोलीले उनलाई नियन्त्रणमा लियो र प्रहरीको सवारीसाधनमार्फत भक्तपुरस्थित घरमा छाडेर आयो।
यस घटनापछि केही अनलाइन सञ्चारमाध्यमले प्रसाईँ पक्राउ परेको भनी समाचार प्रकाशित गरे। त्यसको खण्डन गर्दै एसपी भट्टराईले नेपाल न्यूज बैंकसँगको कुराकानीमा भने, ‘हामीले पक्राउ गरेको होइनौँ। उहाँले विमानस्थलजस्तो निषेधित क्षेत्रमा विरोधको कार्यक्रम गर्न लाग्नुभएको थियो। त्यसैले हामीले उहाँलाई घर छोडेर आएका हौँ। यो केवल सहजीकरण मात्र हो।’
प्रहरीका अनुसार विमानस्थल एक निषेधित क्षेत्र भएकाले त्यहाँ कुनै पनि प्रकारको प्रदर्शन वा विरोध कार्यक्रम गर्न पाइँदैन। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रसाईँलाई त्यहाँबाट हटाइएको प्रहरीले जनाएको छ।
