मनोरंजन

दीपाश्री निरौलाको ब्रेन ट्युमर शल्यक्रिया सफल, जनरल वार्डमा स्वास्थ्यलाभ गर्दै

By अर्जुन भट्टराई •

दीपाश्री निरौलाको ब्रेन ट्युमर शल्यक्रिया सफल, जनरल वार्डमा स्वास्थ्यलाभ गर्दै

काठमाडौं । चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको शल्यक्रिया गरिएको हो। हाल उनी आइसियूबाट जनरल वार्डमा सारिएर स्वास्थ्यलाभ गरिरहेकी छन्।

स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो। चलचित्रको छायांकन चलिरहेकै बेला उनलाई ब्रेन ट्युमर भएको पत्ता लागेको थियो।

शल्यक्रियाको जानकारी अभिनेता तथा निर्माता दीपकराज गिरीले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। उनले लेखेका छन्, ‘यो साता हाम्रो लागि निक्कै चुनौतीपूर्ण र कठिन समय रह्यो। सुटिङको बिचमा दीपाजीलाई ब्रेन ट्युमर भएको पत्ता लाग्यो, त्यसपछि हामी अन्योलमा पर्यौं, तुरुन्तै शल्यक्रिया गर्नुपर्ने भयो।’

गिरीका अनुसार प्रारम्भमा उपचारका लागि भारत जाने सुझाव आएको थियो। तर अन्तमा नेपालकै वरिष्ठ न्युरोसर्जन डा. बसन्त पन्तको नेतृत्वमा शल्यक्रिया गर्ने निर्णय लिइयो र शल्यक्रिया सफल भयो।

गिरीले दीपाश्रीको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने दर्शक तथा शुभेच्छुकहरू, र उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.