अर्थ

पिरो चाउचाउको लहरमा वाइवाइ किन पछाडि पर्दैछ? सीजी फुड्सको आम्दानीमा ठूलो गिरावट

By अर्जुन भट्टराई

पिरो चाउचाउको लहरमा वाइवाइ किन पछाडि पर्दैछ? सीजी फुड्सको आम्दानीमा ठूलो गिरावट

काठमाडौं । दशकौँदेखि नेपाली बजारमा चाउचाउको पर्यायवाची बनेको ‘वाइवाइ’ अहिले कडा प्रतिस्पर्धाको सामना गर्दैछ। पिरो स्वादका नयाँ चाउचाउहरू बजारमा तीव्र रूपमा फैलिएसँगै उपभोक्ताको रोजाइ बदलिएको छ, र यसको सिधा असर चौधरी समूहअन्तर्गतको सीजी फुड्स नेपाल लिमिटेडको आम्दानीमा परेको छ।

रेटिङ एजेन्सी इक्रा नेपालको हालैको प्रतिवेदनअनुसार, नयाँ स्वदेशी तथा विदेशी ब्रान्डहरूले पिरो स्वादका चाउचाउमार्फत आक्रामक रूपमा बजार विस्तार गरेका छन्। यसले वाइवाइको बजार हिस्सा र नाफामा उल्लेखनीय दबाब सिर्जना गरेको छ।

तथ्याङ्क हेर्दा, आर्थिक वर्ष २०८०/८१ मा ११ अर्ब ६७ करोड ३० लाख रुपैयाँ रहेको सीजी फुड्सको समेकित सञ्चालन आम्दानी गत आर्थिक वर्ष २०८१/८२ मा २.७२ प्रतिशतले घटेर ११ अर्ब ३५ करोड ५० लाख रुपैयाँमा झरेको छ। त्यस्तै, सञ्चालन नाफा मार्जिन पनि आर्थिक वर्ष २०८०/८१ को १२.१ प्रतिशतबाट घटेर गत वर्ष ६.६ प्रतिशतमा सीमित भएको छ। यो गिरावटका लागि पिरो चाउचाउको बढ्दो प्रतिस्पर्धाका साथै कच्चा पदार्थको मूल्यमा भएको उतारचढाव पनि जिम्मेवार रहेको इक्रा नेपालले उल्लेख गरेको छ।

कम्पनीको कुल आम्दानीमा अझै पनि चाउचाउको हिस्सा ७४ प्रतिशतभन्दा बढी रहेकाले बदलिँदो बजार मागसँग तालमेल मिलाउनु कम्पनीका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ। कम्पनीले उत्पादनमा विविधता ल्याउने र नयाँ स्वाद भित्र्याउने प्रयास गरे पनि नयाँ ब्रान्डहरूले बजारमा ‘प्राइस वार’ र ‘ब्रान्ड वार’ दुवै तीव्र पारेका छन्।

यस चुनौतीको सामना गर्न सीजी फुड्सले निर्यात बिक्री बढाउने र स्न्याक्स तथा पेय पदार्थजस्ता नयाँ क्षेत्रमा लगानी विस्तार गर्ने रणनीति अपनाएको छ। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नाफा मार्जिनमा केही सुधार देखिए पनि इक्रा नेपालले पिरो चाउचाउका कारण उत्पन्न प्रतिस्पर्धालाई दीर्घकालीन जोखिमका रूपमा चित्रण गर्दै निगरानी जारी राख्नुपर्ने बताएको छ। उपभोक्ताको स्वाद फेरिएको यस नयाँ युगमा वाइवाइले आफ्नो विरासत जोगाउन अब थप कडा संघर्ष गर्नुपर्ने देखिन्छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.