काठमाडौं । प्रहरीले शुक्रबार देशका दुई फरक स्थानमा गरेको कारबाहीमा लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
पहिलो घटनामा, इलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले सिन्धुलीको दुधौली नगरपालिका-७ पोखरेमा शुक्रबार बिहान एक जनालाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्ति सुनसरीको हरिनगरा गाउँपालिका-३ बस्ने १८ वर्षीय किशोर हुन्। उनी इटहरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ५९८८ नम्बरको हायसमा सवार थिए। प्रहरीले उनीसँग खैरो हेरोइन जस्तो देखिने पदार्थ १०५ ग्राम र नगद १० हजार ५ सय रूपैयाँ बरामद गरेको छ।
दोस्रो घटनामा, जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले शुक्रबार दिउँसो वीरेन्द्रनगर नगरपालिका-११ गाग्रेतालमा छापा मारी सोही नगरपालिका-१२ बस्ने २० वर्षीय समिर नेपाली लगायत २ जनालाई पक्राउ गरेको छ। उनीहरूसँग ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६५ मिलिग्राम र नगद ६३ हजार रूपैयाँ बरामद भएको छ।
यी दुवै घटनामा प्रहरीले थप अनुसन्धान जारी राखेको छ।
