समाचार

कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर बाढीले डुब्यो, भूमिहीनको गुनासो — ‘तीन महिनामा पनि व्यवस्थापन भएन’

By अर्जुन भट्टराई

कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर बाढीले डुब्यो, भूमिहीनको गुनासो — ‘तीन महिनामा पनि व्यवस्थापन भएन’

काठमाडौं । कीर्तिपुरस्थित राधास्वामी सत्सङ होल्डिङ सेन्टरमा बाढी पसेर ठूलो समस्या उत्पन्न भएको छ। शुक्रबार राति १२ बजेदेखि नै होल्डिङ सेन्टरमा पानी भित्रिन थालेपछि त्यहाँ आश्रय लिएका भूमिहीन तथा सुकुम्बासी परिवार प्रत्यक्ष प्रभावित भएका छन्।

सुकुम्बासी भूमिहीन अभियन्ता दलमर्दन कामीले सरकारले उचित व्यवस्थापन नगरी आफूहरूलाई समस्यामा पारेको आरोप लगाए। उनले भने, ‘सरकारले प्रहरी परिचालन गरेर वर्षौंदेखि बस्दै आएका मानिसहरूका घर भत्कायो र १५ दिनभित्र व्यवस्थापन गर्छु भनेर होल्डिङ सेन्टरमा ल्याएर राख्यो। तर तीन महिना बितिसक्दा पनि सुकुम्बासी भूमिहीनको कुनै व्यवस्थापन भएको छैन। बरु जबरजस्ती उठाउने र पठाउने रणनीति अपनाइएको छ।’

कामीका अनुसार अहिले होल्डिङ सेन्टरमा २२० जनाभन्दा बढी मानिस बसिरहेका छन्। यसमध्ये ४७ जना बालबालिका, ४ जना नवजात शिशु र धेरै बिरामी वृद्धवृद्धा पनि छन्। यी सबैको अगाडि अहिले कहाँ जाने र कसरी व्यवस्थापन हुने भन्ने कुनै टुंगो छैन।

त्यहाँ बस्नेहरू भन्छन् — ‘सरकारले उचित व्यवस्थापन गरे मात्र हामी यहाँबाट जान्छौं। अर्को ठाउँमा लगेर फेरि यही कष्ट दिने हो भने हामी यहीँ मर्छौं, यहाँबाट जाँदैनौं।’

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.