काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले आज मुख्य कलाकारसहितको यो पोस्टर बाहिर ल्याएको हो ।
पोस्टरको केन्द्रमा चलचित्रका नायक दील श्रेष्ठ छन्, जो हल्दी डे मनाइरहेका छन् । उनको हल्दी डेमा मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह र नम्रता श्रेष्ठ उपस्थित छन् । विवाहअघि मनाइने यो हल्दी डे झकिझकाउ ढंगले सजाइएको छ र उपस्थित सबै प्रफुल्ल मुद्रामा देखिन्छन् । नम्रताको हातमा हुनेवाला दुलाहालाई दिन ल्याइएको बुके छ भने मदनकृष्ण ह्विलचेयरमा बसेका छन्, जसले उनको शारीरिक अवस्था देखाउँछ ।
पोस्टरको समग्र रूपले यो चलचित्र एक पारिवारिक ड्रामा भएको स्पष्ट पार्छ र सपरिवार हलमा आउन दर्शकलाई आमन्त्रण पनि गरेको छ ।
अभिनेत्री रेखा थापाको निर्देशनमा बनेको यो चलचित्र भदौ २६ गते रिलिज हुँदैछ र हाल पोस्ट प्रोडक्सनको चरणमा छ । रेखा थापा ८ वर्षको अन्तरालपछि निर्देशनमा फर्किएकी हुन् । ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरिसकेकी उनको यो तेस्रो निर्देशकीय फिचर फिल्म हो । यसपटक उनले आफ्नै ब्यानर ‘रेखा फिल्मस्’बाहिर आएर ‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा यो चलचित्र निर्देशन गरेकी हुन् ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, मिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ । विशेष भूमिकामा पूर्व मिस नेपाल उषा खड्गी पनि छिन् । यसका साथै लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायतको अभिनय छ ।
चलचित्रका निर्माता हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ हुन् । पटकथा ध्रुव लम्सालले लेखेका छन् भने छायांकन सुदीप बरालको छ । संगीत प्रशान्त सिवाकोटीको रहेको यो चलचित्रले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्नेछ ।
चलचित्रको वितरणको जिम्मा रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन् ।
