मनोरंजन

‘गौँथली’ : अटिजम, बाल विवाह र आमाको जीवनीमा आधारित भावुक फिल्म

By अर्जुन भट्टराई •

‘गौँथली’ : अटिजम, बाल विवाह र आमाको जीवनीमा आधारित भावुक फिल्म

काठमाडौँ । पोस्टर सार्वजनिक भएदेखि नै दर्शकको ध्यान खिचेको फिल्म ‘गौँथली’ आगामी साउन १ गतेदेखि नेपालभर प्रदर्शनमा आउँदैछ। करिब २५ वर्षअघि डाक्टर भोला रिजालले गीतिकथानक फिल्मका रूपमा तयार गरेको ‘गौँथली’ यसपटक उनकै छोरा डा. कपिल रिजालको निर्देशनमा नयाँ स्वरूपमा हलमा आउँदैछ। भाव उही छ, तर प्रस्तुतीकरण र संवाद दर्शकका लागि सर्वथा नयाँ छ।

फिल्मको पहिलो पोस्टरमा अभिनेता अरुण क्षेत्री असामान्य रूपमा र अभिनेत्री सिम्रन खड्का दुखी भावमा देखिएका थिए। पोस्टरमा यी दुईको विवाहको तस्बिर थियो, जसले दर्शकको मनमा कौतूहल जगाएको थियो। त्यसपछि सार्वजनिक गरिएका गीत र ट्रेलरले फिल्मको कथासार थप स्पष्ट पारेका छन्।

फिल्मको कथा एसएलसी पढ्ने सपना बोकेकी एक बालिकाको इर्दगिर्द घुम्छ, जसको कम उमेरमै अटिजम भएका एक युवासँग विवाह हुन्छ र त्यसपछि उसको जीवनमा आउने उतारचढावलाई केन्द्रमा राखिएको छ। यो कथा वास्तवमा चिकित्सक तथा साहित्यकार डा. भोला रिजालले आफ्नी श्रीमती सरला रिजालको जीवन यात्रामा आधारित भएर तयार गरेको हो।

निर्देशक डा. कपिल रिजाल यस फिल्मबारे आफैं भावुक छन्। यो कथा उनकै आमाको जीवनसँग प्रत्यक्ष जोडिएको छ — उनका पिताले बाल्यकालमै आमासँग विवाह गरेर पढाइका क्रममा धेरै समय बाहिर बिताएका थिए। नयाँ ठाउँ, अपरिचित परिवेशमा बालबालिका हुर्काउँदाको संघर्षलाई उनले नजिकबाट देखेका र अनुभव गरेका छन्।

‘गौँथली हाम्रै समाजको कथा हो। यसले मानवीयताको धरातलमा छुन्छ र हामीलाई थाहै नपाइकन एउटा महत्त्वपूर्ण सन्देश दिन्छ। फिल्म हेरेपछि दर्शकले तारिफ नै गर्नुहुनेछ,’ निर्देशक डा. रिजालले भने।

उनले यो फिल्मलाई प्राविधिक दृष्टिले अन्तर्राष्ट्रिय स्तरको बनाएको पनि बताए। ‘प्रविधिमा विश्वस्तरीय भए पनि यो हाम्रो गाउँठाउँकै मौलिक कथा हो। यसले मनोरञ्जनका साथै समाज र सोचमा थोरै भए पनि परिवर्तन ल्याउँछ भन्नेमा म विश्वस्त छु,’ उनले भने।

उल्लेखनीय छ, डा. कपिल रिजालले यसअघि निर्देशन गरेको फिल्म ‘ह्यारीकी प्यारी’ मा स्पर्म डोनेसनको विषय उठाएका थिए। यसपटक ‘गौँथली’ मार्फत उनले अटिजम भएको व्यक्तिको जीवनशैलीलाई पर्दामा उतारेका छन्।

फिल्ममा अभिनेता अरुण क्षेत्रीले अटिजम भएको युवकको र अभिनेत्री सिम्रन खड्काले एसएलसी पास गर्ने सपना बोकेकी बालिकाको भूमिका निभाएका छन्। यी दुईका अतिरिक्त फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारले अभिनय गरेका छन्।

डा. भोला रिजालको कथामा आधारित यस फिल्मको संवाद निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका छन्। घर, परिवार र आपसी नजिकपनको प्रतीकात्मक अर्थ बोकेको ‘गौँथली’ साउन १ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.