समाचार

जलन भएमा के गर्ने? डा. अनिल धितालले दिए महत्त्वपूर्ण सुझाव

By अर्जुन भट्टराई

जलन भएमा के गर्ने? डा. अनिल धितालले दिए महत्त्वपूर्ण सुझाव

काठमाडौं । जलन भएपछि तत्काल सही प्राथमिक उपचार अपनाउनु अत्यन्त जरुरी छ। इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार समयमै सही प्राथमिक उपचार गरेमा बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन सकिन्छ।

डा. धितालका अनुसार जलन भएको अवस्थामा सबैभन्दा पहिले आगो निभाउनुपर्छ, त्यसपछि मात्र प्राथमिक उपचार गर्नुपर्छ।

**आगो कसरी निभाउने?**

शरीरमा आगोको लप्का लागेको अवस्थामा व्यक्ति एक्लै छ भने भुईँमा ढलेर लडिबुडी गर्ने ‘स्टप, ड्रप एन्ड रोल’ विधि अपनाउन सकिन्छ। यो विश्वव्यापी रूपमा प्रमाणित प्रभावकारी तरिका हो। यसका साथै बाक्लो कपडा, जुटको सामग्री वा सजिलै नजल्ने ब्ल्यांकेटलाई पानीमा भिजाएर पनि आगो निभाउन सकिन्छ। तर यस क्रममा सावधानी अपनाउन उनले जोड दिए।

**पानी हाल्ने सही तरिका**

आगो निभाइसकेपछि बिरामी सामान्य अवस्थामा छ भने जलेको भागमा करिब ३० मिनेटसम्म सामान्य तापक्रमको बगिरहेको पानी हाल्नुपर्छ। फ्रिजको चिसो वा तातो पानी प्रयोग गर्नु हुँदैन।

‘जलेको भागलाई पानीमा डुबाउने होइन, माथिबाट पानी बगाउने हो। धारा उपलब्ध नभएको अवस्थामा तल भाँडा राखेर माथिबाट पानी हाल्न सकिन्छ,’ डा. धितालले बताए।

**कपडा जबरजस्ती नतान्नुस्**

जलेर शरीरमा टाँसिएका कपडा जबरजस्ती निकाल्नु हुँदैन। त्यसो गर्दा छाला थप च्यातिन सक्छ र घाउ गहिरो हुने जोखिम बढ्छ।

**पानी खुवाउनु पनि जरुरी**

जलन भएका बिरामी सचेत छन् र खान सक्ने अवस्थामा छन् भने बिस्तारै पानी खुवाउनुपर्छ। डा. धितालका अनुसार जलन हुँदा शरीरबाट पानीको मात्रा घट्दै जान्छ, किनभने छालाले शरीरभित्रको तरल पदार्थ जोगाउने काम गर्छ र जलनपछि त्यो सुरक्षा कवच नष्ट हुन्छ।

‘छाला घरको छतजस्तै हो। जसरी छतले बाहिरी असरबाट जोगाउँछ, त्यसैगरी छालाले शरीरभित्रको पानी र तरल पदार्थलाई सुरक्षित राख्छ। जलनपछि छाला नष्ट हुँदा शरीरबाट पानी घट्न थाल्छ,’ उनले भने।

**अस्पताल लैजाने तरिका**

प्राथमिक उपचारपछि जलेको भागलाई सफा कपडाले छोपेर सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्था वा अस्पताल लैजानुपर्छ। बिरामी खान सक्ने अवस्थामा छ भने बाटोमा पनि पानी खुवाउँदै लैजान सकिन्छ। तर बिरामी बेहोस छ वा गम्भीर अवस्थामा छ भने भने ढिला नगरी तत्काल स्वास्थ्य संस्थामा पुर्‍याउनुपर्ने उनले जोड दिए।

‘यी सामान्य फर्स्ट एडका उपाय मात्र हुन्। गम्भीर जलन भएको अवस्थामा चिकित्सकीय उपचार नै अपरिहार्य हुन्छ,’ डा. धितालले बताए।

नेपालमा जलनबारे पर्याप्त जनचेतनाको अभाव रहेको र प्राथमिक उपचारमा कमजोरी हुने गरेको देखिन्छ। बिहीबारको गणेश नेपालीको घटनामा पनि अज्ञानताका कारण जलनपछि अपनाउनुपर्ने आधारभूत प्राथमिक उपचारका उपायहरू प्रयोग हुन नसकेको देखिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.