समाचार

बझाङमा बोलेरो जीप दुर्घटना : ३ को मृत्यु, १३ घाइते, गम्भीर घाइतेलाई हेलिकोप्टरबाट उद्धार

By अर्जुन भट्टराई

बझाङमा बोलेरो जीप दुर्घटना : ३ को मृत्यु, १३ घाइते, गम्भीर घाइतेलाई हेलिकोप्टरबाट उद्धार

धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा दुर्गाथली गाउँपालिका–६ की ६० वर्षीया केलादेवी महत, सोही स्थानका ६० वर्षीय चक्र महत र केदारस्यूँ गाउँपालिका–७ की बिमला धामी छन्।

गम्भीर घाइतेहरूलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत अन्यत्र लैजाने तयारी भइरहेको प्रजिअ केशरीले जानकारी दिए। उनले भने, ‘घाइतेको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बाहिर लैजान हेलिकोप्टर पठाइएको छ। घटनास्थल भौगोलिक रूपमा निकै विकट र टाढा भएकाले उद्धारमा समस्या भइरहेको छ।’

जीप सडकबाट करिब ३ सय मिटर तल खसेको उनले बताए। जीपमा कति जना सवार थिए भन्ने यकिन विवरण भने अझै प्राप्त हुन सकेको छैन। घटनास्थलमा स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोली उद्धार कार्यमा खटिएको छ भने दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.