काठमाडौं । पहिले उमेर पुगेपछि मात्र देखिने कम्मर र ढाड दुखाइको समस्या अहिले युवादेखि वृद्धसम्म सबैमा तीव्र रूपमा बढ्दै गएको छ। कार्यालयमा लामो समय कम्प्युटरअगाडि बस्ने बानी, शारीरिक गतिविधिको कमी र व्यायाम नगर्ने जीवनशैलीका कारण यो समस्या युवामा पनि व्यापक भएको छ।
हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. विनोद विजुक्छेका अनुसार कम्मर तथा ढाड दुखाइ विश्वभर सबैभन्दा सामान्य स्वास्थ्य समस्यामध्ये एक हो र संसारभर मानिस अस्पताल पुग्ने प्रमुख कारणहरूमध्ये पनि यही समस्या छ। अधिकांश अवस्थामा यो समस्या जीवनशैली सुधार, नियमित व्यायाम र फिजियोथेरापीबाटै निको हुने उनले बताए।
**मेकानिकल ब्याक पेन के हो?**
डा. विजुक्छेका अनुसार सामान्य कम्मर दुखाइलाई चिकित्सकीय भाषामा ‘मेकानिकल ब्याक पेन’ भनिन्छ। आराम गर्दा वा सुत्दा दुखाइ कम हुने तर हिँडडुल गर्दा, सामान उठाउँदा वा शारीरिक गतिविधि गर्दा दुखाइ बढ्ने गरेमा त्यसलाई मेकानिकल ब्याक पेन मानिन्छ। यो दुखाइ कम्मरको भागमा मात्र सीमित रहन्छ।
यस बाहेक ढाड दुखाइका अन्य कारणहरूमा ढाड बाङ्गिने समस्या (स्कोलियोसिस), हड्डीको संक्रमण वा पाक्ने (बोन ट्युबरकुलोसिस वा टिबी), हड्डीको क्यान्सर र मेरुदण्डमा बाथ (आन्कायलोजिङ स्पोन्डिलाइटिस) पनि पर्छन्। तर सबैभन्दा बढी देखिने भनेको मेकानिकल ब्याक पेन नै हो।
मेकानिकल ब्याक पेन हुनका मुख्य कारणहरूमा गलत बसाइ, काम गर्ने गलत तरिका, उमेरको प्रभाव र शरीरको अत्यधिक तौल रहेको उनले उल्लेख गरे।
**नसा च्यापिनु भनेको के हो?**
नसा च्यापिँदाको दुखाइ मेकानिकल ब्याक पेनभन्दा फरक हुन्छ। यस्तो अवस्थामा दुखाइ कम्मरमा मात्र सीमित नरही खुट्टातर्फ पनि फैलिन्छ। दायाँतर्फको नसा च्यापिएको भए दायाँ खुट्टामा र बायाँतर्फको नसा च्यापिएको भए बायाँ खुट्टामा दुखाइ महसुस हुन्छ।
डा. विजुक्छेका अनुसार मेरुदण्डका हड्डीबीच रहेको नरम डिस्क (इन्टरभर्टेब्रल डिस्क) फुटेर बाहिर निस्किँदा नसामा दबाब पर्छ र नसा च्यापिने समस्या उत्पन्न हुन्छ। यसलाई डिस्क हर्निएसन, स्लिप डिस्क वा डिस्क प्रोल्याप्स पनि भनिन्छ। डिस्क अत्यन्त नरम हुने भएकाले सामान्य हिँडाइ, बसाइ वा काम गर्दाखेरि पनि यो फुटेर बाहिर निस्किन सक्छ।
**शल्यक्रिया सबैलाई आवश्यक पर्दैन**
डा. विजुक्छेले नसा च्यापिने समस्यालाई लिएर अत्यधिक डराउन नहुने बताए। उनका अनुसार नसा च्यापिँदैमा पक्षघात (प्यारालाइसिस) हुँदैन। नसा च्यापिएका सय जना बिरामीमध्ये केवल २ देखि ५ जनालाई मात्र शल्यक्रिया आवश्यक पर्छ। बाँकी ९५ देखि ९८ प्रतिशत बिरामी औषधि, फिजियोथेरापी, व्यायाम र जीवनशैली सुधारबाटै निको हुन्छन्।
‘फिजियोथेरापीको भूमिका अत्यन्तै महत्वपूर्ण छ। औषधिभन्दा पनि नियमित व्यायाम गर्नुभयो भने दुखाइ धेरै कम हुन्छ। व्यायामले जोर्नीलाई लचिलो बनाउँछ र मेरुदण्डलाई सहयोग गर्ने मांसपेशी बलियो बनाउँछ,’ उनले भने।
**गलत बसाइ र प्रविधिको अत्यधिक प्रयोग मुख्य कारण**
डा. विजुक्छेका अनुसार आजकल साना बालबालिकादेखि वयस्कसम्म मोबाइल र कम्प्युटरको अत्यधिक प्रयोग गर्ने भएकाले गलत पोस्चर (बस्ने तरिका) का कारण ढाड, घाँटी र काँध दुख्ने समस्या बढिरहेको छ। तीन-चार वा पाँच-छ घण्टासम्म लगातार कम्प्युटरमा काम गर्दा एउटै मांसपेशीमा निरन्तर भार पर्छ, मांसपेशी थाक्छ र दुखाइ सुरु हुन्छ।
**नेपालमा स्पाइन सर्जरीमा ठूलो परिवर्तन**
डा. विजुक्छेले नेपालमा सन् २००६ देखि स्पाइन सर्जरी सुरु गरेको जानकारी दिए। उनका अनुसार त्यसयता प्रविधिमा ठूलो परिवर्तन आएको छ। अहिले मेरुदण्डमा प्रयोग हुने स्क्रु, रड र अन्य उपकरणहरू अत्याधुनिक भएका छन्। सानो प्वालबाटै इन्डोस्कोपिक स्पाइन सर्जरी गर्न सकिने भएकाले बिरामी छिटो निको हुन थालेका छन्।
**बच्ने उपाय के छन्?**
डा. विजुक्छेले कम्मर र ढाडको समस्याबाट जोगिन निम्न सुझाव दिए:
– होचो ठाउँमा पलेटी मारेर लामो समय नबस्ने
– प्रत्येक आधा घण्टामा केही मिनेट उभिने वा हिँड्ने बानी बसाल्ने
– सही तरिकाले बस्ने र काम गर्ने
– नियमित व्यायाम गर्ने
– तौल नियन्त्रणमा राख्ने
‘उमेर बढ्दै जाँदा हड्डी खिइनु प्राकृतिक प्रक्रिया हो, यसलाई रोक्न सकिँदैन। तर नियमित व्यायामबाट शरीरको लचकता र बल कायम राखेर त्यसको असर कम गर्न सकिन्छ,’ उनले भने।
अन्तमा डा. विजुक्छेले उपचारको मुख्य उद्देश्य बिरामीलाई पुनः सामान्य दैनिक जीवनमा फर्काउनु र उनीहरूको जीवनस्तर सुधार गर्नु रहेको बताए।
