काठमाडौं। जलन भएपछि तत्काल सही प्राथमिक उपचार अपनाउनु अत्यन्त जरुरी हुन्छ। इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार समयमै र सही तरिकाले प्राथमिक उपचार गरिएमा बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन सकिन्छ।
डा. धितालका अनुसार जलन भएको अवस्थामा सबैभन्दा पहिले आगो निभाउनुपर्छ, त्यसपछि मात्र प्राथमिक उपचारतर्फ ध्यान दिनुपर्छ।
शरीरमा आगोको लप्का लागेको अवस्थामा व्यक्ति एक्लै छ भने भुइँमा ढलेर लडिबुडी गर्ने अर्थात ‘स्टप, ड्रप एन्ड रोल’ विधि प्रयोग गर्नुपर्छ। यो आगो निभाउने विश्वव्यापी रूपमा प्रभावकारी मानिएको विधि हो। यसका साथै बाक्लो कपडा, जुटको सामग्री वा सजिलै आगो नलाग्ने कम्बललाई पानीमा भिजाएर पनि आगो निभाउन सकिन्छ, तर यस क्रममा पर्याप्त सावधानी अपनाउन उनले जोड दिए।
आगो निभाइसकेपछि बिरामी सामान्य अवस्थामा छ भने जलेको भागमा करिब ३० मिनेटसम्म सामान्य तापक्रमको बगिरहेको पानी हाल्नुपर्ने उनले बताए। फ्रिजको चिसो पानी वा तातो पानी प्रयोग गर्न भने नहुने उनको स्पष्ट भनाइ छ।
‘जलेको भागलाई पानीमा डुबाउने होइन, माथिबाट बगाउने हो। धारा नभएको अवस्थामा तल भाँडो राखेर माथिबाट पानी हाल्न सकिन्छ,’ उनले भने।
जलनपछि शरीरमा टाँसिएका कपडा जबरजस्ती निकाल्नु हुँदैन। त्यसो गर्दा छाला थप च्यातिने र घाउ गहिरो हुन सक्ने जोखिम रहने उनले चेतावनी दिए।
जलन हुँदा शरीरबाट पानी घट्दै जाने भएकाले बिरामी सचेत छ र खान सक्ने अवस्थामा छ भने विस्तारै पानी खुवाउनुपर्ने डा. धितालले बताए। ‘छाला हाम्रो शरीरको सुरक्षा कवच हो। जसरी घरको छतले बाहिरी असरबाट जोगाउँछ, त्यसैगरी छालाले शरीरभित्रको तरल पदार्थ जोगाउँछ। जलनपछि छाला नष्ट भएपछि शरीरबाट पानी घट्न थाल्छ,’ उनले भने।
प्राथमिक उपचारपछि जलेको भागलाई सफा कपडाले छोपेर सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्था वा अस्पताल लैजानुपर्छ। बिरामी खान सक्ने अवस्थामा छ भने बाटोमा पनि पानी खुवाउँदै लैजान सकिन्छ। तर बिरामी बेहोस छ वा गम्भीर अवस्थामा छ भने ढिला नगरी तुरुन्त स्वास्थ्य संस्थामा पु¥याउनुपर्ने उनले बताए।
‘यी सामान्य फस्र्ट एडका उपाय मात्र हुन्। गम्भीर जलन भएको अवस्थामा चिकित्सकीय उपचार अनिवार्य हुन्छ,’ डा. धितालले स्पष्ट पारे।
उल्लेखनीय छ, नेपालमा जलनबारे पर्याप्त जनचेतनाको अभाव छ र प्राथमिक उपचारमा कमजोरी देखिने गरेको छ। बिहीबारको गणेश नेपालीको घटनामा पनि जलनपछि अपनाउनुपर्ने आधारभूत प्राथमिक उपचार प्रयोग हुन नसकेको देखिएको छ।
