अर्थ

बुडर–जोरायल सडक निर्माणमा ढिलाइ: रास्वपा डोटीले पूर्वाधार कार्यालयलाई बुझायो ज्ञापनपत्र

By अर्जुन भट्टराई

बुडर–जोरायल सडक निर्माणमा ढिलाइ: रास्वपा डोटीले पूर्वाधार कार्यालयलाई बुझायो ज्ञापनपत्र

दिपायल। बुडर–जोरायल–गड्सेरा सडक निर्माणमा वर्षौंदेखि भइरहेको ढिलाइप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीले कडा आपत्ति जनाएको छ। पार्टीले पूर्वाधार विकास कार्यालय, डडेलधुरालाई ज्ञापनपत्र बुझाउँदै सडक निर्माण कार्यलाई तत्काल तीव्रता दिन माग गरेको छ।

रास्वपा डोटीका जिल्ला सह–सचिव तथा संगठन विभाग प्रमुख डिल्ली राज भट्टले ज्ञापनपत्र हस्तान्तरण गर्दै भने, ‘सडक निर्माणमा भइरहेको ढिलासुस्तीले स्थानीय नागरिकको दैनिक जीवन, शिक्षा, स्वास्थ्य र व्यापारिक गतिविधिमा गम्भीर असर परिरहेको छ।’ ज्ञापनपत्रमा २०७१ सालमा यसै सडकखण्डमा भएको दुखद् बस दुर्घटनालाई स्मरण गर्दै सुरक्षित सडक नहुँदा स्थानीय बासिन्दा अझै पनि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको उल्लेख गरिएको छ।

आयोजनाको हालको अवस्थाबारे रास्वपाले जनाएअनुसार, राजेन्द्र–शर्मा जेभीसँग २०७७ असार ३० गते सम्झौता भएको पहिलो आयोजनाको म्याद २०८२ पुस २९ सम्म थपिएको छ, तर हालसम्म ४३.९१ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। यो आयोजना पूरा गर्न थप १७ करोड रुपैयाँ आवश्यक रहेको छ। त्यसैगरी, केएस कन्स्ट्रक्सन प्रालिसँग २०७८ असार १५ गते सम्झौता भएको दोस्रो आयोजनाको म्याद २०८३ चैत ३० सम्म थपिएको छ र हालसम्म ५१.९८ प्रतिशत मात्र काम सकिएको छ। यसका लागि थप ६ करोड ५० लाख रुपैयाँ आवश्यक रहेको देखिएको छ।

रास्वपाले कुनै पक्षलाई दोष दिने उद्देश्य नभएको स्पष्ट पार्दै नागरिकको सुरक्षालाई प्राथमिकतामा राखी निर्माण अवधिभर सुरक्षित आवागमन सुनिश्चित गर्न माग गरेको छ। साथै, निर्माण ढिलाइको वास्तविक कारण सार्वजनिक गर्न र तोकिएको समयसीमाभित्र आयोजना सम्पन्न गर्न सम्बन्धित निकायलाई जोडदार आग्रह गरिएको छ।

रास्वपाका डोटी जिल्ला सभापति केशव बलायरले डोटी जिल्ला विकासको दृष्टिले पहिले नै पछाडि रहेको र सडक पहुँच नहुँदा स्थानीयवासी थप मुस्किलमा परेको बताए। ‘यहाँका उत्पादनले राम्रो बजार पाउन सकेका छैनन्। सम्बन्धित निकायले लापरबाही नगरोस्,’ उनले भने।

ज्ञापनपत्र बुझ्दै पूर्वाधार विकास कार्यालय, डडेलधुराका प्रमुख नवराज रावलले सडक निर्माणका विषयमा आफूहरू गम्भीर रहेको बताए। उनका अनुसार हालसम्म वित्तीय प्रगति ४४ प्रतिशत र भौतिक प्रगति ५० प्रतिशत हाराहारी रहेको छ। निर्माण कम्पनिलाई तालिकाअनुसार काम सक्न निर्देशन दिँदा पनि लापरबाहीका कारण अपेक्षित प्रगति नभएको स्वीकार गर्दै उनले अहिले जरिवाना लगाएर काम अगाडि बढाइएको जानकारी दिए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.