मनोरंजन

फिल्म ‘आशा’ घोषणा समारोहमा अनुभवी ड्रेसम्यान कमल मिश्रलाई ५१ हजार नगदसहित सम्मान

By अर्जुन भट्टराई •

फिल्म ‘आशा’ घोषणा समारोहमा अनुभवी ड्रेसम्यान कमल मिश्रलाई ५१ हजार नगदसहित सम्मान

काठमाडौं । नेपाली फिल्म ‘आशा’ को निर्माण घोषणा समारोहमा दशकौंदेखि चलचित्र क्षेत्रमा कार्यरत अनुभवी प्राविधिक कमल मिश्रलाई विशेष सम्मान गरिएको छ।

विसं २०४६ मा प्रदर्शन भएको फिल्म ‘अन्याय’ बाट भेषभूषा विभाग (ड्रेसम्यान) को रूपमा आफ्नो करियर सुरु गरेका मिश्रलाई निर्मात्री शर्मिला थापा, निर्देशक राजिव गुरुङ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले संयुक्त रूपमा ५१ हजार रुपैयाँ नगद र दोसल्लाह ओढाएर सम्मान गरे।

उल्लेखनीय कुरा के छ भने, मिश्र केही समयअघि क्यान्सरबाट पीडित भएका थिए। निको भएपछि उनी पुनः काममा सक्रिय भएका छन्। सम्मान ग्रहण गर्दै उनले भने, ‘हामीलाई काम गर्दासम्म सबैले सम्झिनु हुन्छ। म विरामी भएको थिएँ, अहिले निको भएर फाट्टफुट्ट काम गर्दैछु। यो अवस्थामा पाएको यो आर्थिक सहयोगले मेरो जीविकोपार्जनमा ठूलो मदत पुग्छ। म निर्माण टिमप्रति कृतज्ञ छु।’

शर्मिला थापाको लगानीमा बन्न लागेको यस फिल्मको लेखन तथा निर्देशन राजिव गुरुङले गर्नेछन्। समारोहमा ११ जना बटुकद्वारा स्वस्तिवाचन गरिएपछि फिल्मको शीर्षक र कलाकारको नाम सार्वजनिक गरिएको थियो।

फिल्म ‘आशा’ मा महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, शुशांक मैनाली, आशान्त शर्मा, केनिपा सिंह र कविता रेग्मीलगायत कलाकारले मुख्य भूमिका निर्वाह गर्नेछन्। फिल्मको छायांकन आगामी साउने संक्रान्तिदेखि सुरु हुने भएको छ भने माघ १ गते प्रदर्शनमा आउने लक्ष्य राखिएको छ।

फिल्मको प्राविधिक टिममा रामकुमार श्रेष्ठ सह–लेखक तथा मुख्य सहायक निर्देशक, सुदाम सीके स्क्रिप्ट सुपरभाइजर तथा कास्टिङ निर्देशक, नरेन्द्र मैनाली छायांकनकर्ता, युग भुसाल र समीर खरेल संगीतकार, किशोर आचार्य साउन्ड डिजाइनर, लोकेश बज्राचार्य सम्पादक तथा सोनाली शिल्पकार मेकअप तथा हेयर विभागमा रहनेछन्। त्यसैगरी शान्ति तामाङ सहायक निर्देशक, अरुण रेग्मी प्रोडक्सन हेड, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) पब्लिसिटी डिजाइनर तथा करण श्रेष्ठ (रिच इन्टरटेनमेन्ट) वितरकको भूमिकामा रहनेछन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.