समाचार

नेपालमा जलन उपचारका लागि पर्याप्त स्रोत–साधन छैनन् : चन्द्र भण्डारी

By अर्जुन भट्टराई

नेपालमा जलन उपचारका लागि पर्याप्त स्रोत–साधन छैनन् : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा जलन (बर्न) उपचारका लागि आवश्यक स्रोत–साधन र पूर्वाधारको गम्भीर अभाव रहेको बताएका छन् । बर्न अस्पताल भए पनि गम्भीर बिरामीलाई चाहिने सुविधा भने अपर्याप्त रहेको उनको भनाइ छ ।

यो प्रतिक्रिया आएको छ, विहीबार काठमाडौंको राहदानी विभाग अगाडि शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपाली घाइते भएपछि । यस घटनाप्रति प्रतिक्रिया दिँदै नेता भण्डारीले जलन बिरामीका लागि आवश्यक आईसीयू, दक्ष जनशक्ति र अत्याधुनिक उपकरणको कमी रहेको जानकारी दिए ।

उनले भने, ‘नेपालमा बर्न अस्पताल छ, तर जलन भएका व्यक्तिलाई राख्नका लागि आवश्यक आईसीयूको व्यवस्था छैन । मानिसहरू छिटो आत्तिने भएकाले तत्काल उपचारका लागि लैजान खोज्छन्, तर यहाँ उपचार महँगो भएकाले धेरैलाई समस्या हुने गरेको छ ।’

नेता भण्डारीले नेपालमा जलनसम्बन्धी उपचार निकै जटिल भए पनि यस क्षेत्रमा विशेषज्ञ चिकित्सकको संख्या अत्यन्त न्यून रहेको बताए । आवश्यक मेसिन, प्रविधि र राम्रो अस्पताल व्यवस्थापन नेपालमै भएको भए बिरामीलाई विदेश लैजानुपर्ने अवस्था नआउने उनको तर्क छ ।

आफ्नै अनुभव सुनाउँदै उनले भने, ‘म आफैं पनि जलनको सिकार भएँ र भारतमा गएर उपचार गराउनु पर्‍यो । जलनसम्बन्धी केसमा बिरामीको जीवन बचाउन निकै कठिन हुन्छ, त्यसैले मानिसहरू आत्तिएर सुविधासम्पन्न अस्पताल खोज्छन् ।’

नेता भण्डारीले नेपालमै गुणस्तरीय जलन उपचारको व्यवस्था हुन सके बिरामीलाई विदेश जानुपर्ने बाध्यता अन्त्य हुने बताउँदै आगलागी तथा अन्य दुर्घटनाका घाइतेका लागि विशेष व्यवस्था, दक्ष जनशक्ति र आवश्यक पूर्वाधार विकासमा जोड दिए ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.