समाचार

मौद्रिक नीति डेरी र कृषि क्षेत्रका लागि सकारात्मक : नेपाल डेरी एसोसिएसन

By अर्जुन भट्टराई

मौद्रिक नीति डेरी र कृषि क्षेत्रका लागि सकारात्मक : नेपाल डेरी एसोसिएसन

काठमाडौं। नेपाल डेरी एसोसिएसनले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई स्वागत गरेको छ।

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि यो मौद्रिक नीतिले कृषि, पशुपालन, डेरी तथा कृषि आधारित उद्योगलाई प्राथमिकता दिएको छ। नीतिमा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह, सहुलियतपूर्ण वित्तीय पहुँच, साना तथा मझौला उद्यममा कर्जा विस्तार, कृषि मूल्य शृङ्खला, खाद्य प्रशोधन, चिस्यान केन्द्र, भण्डारण पूर्वाधार र आयात प्रतिस्थापनमुखी उद्योगलाई प्रोत्साहन गर्ने व्यवस्था समेटिएको छ।

एसोसिएसनले डेरी क्षेत्रलाई कृषि अर्थतन्त्र, खाद्य सुरक्षा, ग्रामीण रोजगारी र लाखौँ किसान परिवारको जीविकासँग प्रत्यक्ष जोडिएको क्षेत्र भएको बताउँदै उत्पादनशील क्षेत्रमा कर्जा विस्तार, लगानी प्रोत्साहन, कर्जा पुनर्तालिकीकरण तथा पुनःसमायोजन, डिजिटल वित्तीय पहुँच विस्तार र हरित लगानीलाई प्राथमिकता दिने नीतिगत व्यवस्थालाई सकारात्मक मानेको छ।

तर एसोसिएसनले मौद्रिक नीतिमा उल्लेख भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन अनिवार्य रहेको पनि स्पष्ट पारेको छ।

हाल डेरी उद्योग कच्चा दूध उत्पादनमा कमी, उत्पादन लागत वृद्धि, बजार संकुचन, कार्यशील पुँजीको अभाव र बैंकिङ कर्जाको भार जस्ता गम्भीर समस्याबाट गुज्रिरहेको भन्दै एसोसिएसनले डेरी उद्योगलाई विशेष प्राथमिकता दिन माग गरेको छ।

एसोसिएसनले डेरी उद्योगलाई उत्पादनशील तथा अत्यावश्यक उद्योगको रूपमा मान्यता दिँदै सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउन, कार्यशील पुँजीको सहज व्यवस्था गर्न र पुनर्कर्जा तथा कर्जा पुनर्संरचनाको व्यवस्था प्रभावकारी रूपमा लागू गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ।

नेपाल डेरी एसोसिएसनले सरकार, नेपाल राष्ट्र बैंक र सम्बन्धित सरोकारवालासँग मिलेर स्वदेशी दुग्ध उद्योगको संरक्षण तथा प्रवर्द्धन, किसानको आय वृद्धि, रोजगारी सिर्जना, आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.