काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
गणेशका दाइ मदन नेपालीले वीर अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा भाइसँग भएको अन्तिम संवाद भावुक हुँदै सुनाए। मदनका अनुसार अन्तिम अवस्थामा पनि गणेशले बारम्बार ‘मेरो गल्ती थिएन’ भनिरहे।
घटनाको अघिल्लो दिन गणेश आफ्नी श्रीमतीसहित दाइको कोठामा आएका थिए। साँझ करिब ९ बजेतिर गणेश बाहिर निस्किएका थिए र दुर्गम क्षेत्रबाट आएकाले काठमाडौंमा मासु पाउन गाह्रो हुने भन्दै खसीको खुट्टा ल्याएका थिए। उनले दाइलाई त्यो पकाइदिन आग्रह गरेका थिए। मदनले भने, ‘उसले दाइ उठ्नुस् न, बनाउनू भन्यो। मैले भयो छाड भनेँ। त्यसपछि उसले त्यही भात खाएर सुत्यो।’
घटनाको दिन बिहान मदनले गणेशलाई बाइकको किस्ता तिर्नुपर्ने भएकाले पठाओ चलाउन जान भनेका थिए। मदनले भने, ‘मैले भनेँ — गणेश उज्यालो भयो, पर्सि बाइकको किस्ता बुझाउने दिन आइसक्यो, पठाओ गर्न जाऊ। ऊ उठेर बाइक निकाल्यो। छिमेकीलाई असर नहोस् भनेर बाइक बाहिर लगेर स्टार्ट गरेको थियो।’
गणेश बिहान निस्किएपछि दिउँसोसम्म घर नफर्किँदा मदन पर्खिरहे। दिउँसो साढे २ बजेतिर प्रहरीको फोन आएपछि मात्र उनलाई घटनाको जानकारी भयो। मदनले भने, ‘प्रहरीको नम्बरबाट फोन आयो — तपाईंको मान्छेले पेट्रोल छर्केर घटना गर्नुभएको रहेछ, वीर अस्पताल आउनुस् भन्नुभयो। म तीन बजे अस्पताल आइपुगेँ।’
अस्पतालमा भेट्दा गणेशको बोली कमजोर थियो। मदनले भावुक हुँदै सुनाए, ‘दाइ, बाबा–मम्मीलाई राम्रो गर्नुस् भनेको भन्यै गर्यो। त्यसपछि उसले दुई पटक भन्यो — दाइ, मेरो गल्ती थिएन है।’
मदनका अनुसार गणेशले ह्वील लक र ट्राफिक कारबाहीको प्रसंग उठाउँदै आफूले गल्ती नगरेको बताए। मदनले भने, ‘मैले सोधेँ — कसको के भएको हो? उसले भन्यो — मेरो गल्ती थिएन, ह्वील लक लायो, ह्वील लक लगाउँदालगाउँदै ट्राफिक आएर त्यस्तो भयो।’ त्यसपछि गणेशको बोली बन्द भयो र उनले थप केही बोल्न सकेनन्।
