समाचार

गणेश नेपालीको परिवारलाई क्षतिपूर्ति र भरणपोषण दिन राइडर युनियनको माग

By अर्जुन भट्टराई

गणेश नेपालीको परिवारलाई क्षतिपूर्ति र भरणपोषण दिन राइडर युनियनको माग

काठमाडौं । प्रहरी प्रशासनको दबाबविरुद्ध आत्मदाह गरेका राइड शेयरिङ श्रमिक गणेश नेपालीको वीर अस्पतालमा उपचारकै क्रममा निधन भएको छ । उनको मृत्युप्रति विभिन्न राइडर युनियनहरूले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

राइडर्स युनियन नेपाल, नेपाल प्लाटफर्म वर्कर्स युनियन लगायतका संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। विज्ञप्तिमा भनिएको छ— गणेश नेपालीको मृत्युले गिग तथा प्लाटफर्ममा आधारित यातायात र सेवा क्षेत्रका सम्पूर्ण श्रमिकहरूलाई स्तब्ध बनाएको छ।

युनियनहरूले विगतदेखि उठाउँदै आएका श्रमिक अधिकारसम्बन्धी मागहरूलाई थप दृढताका साथ अघि बढाउने प्रतिबद्धता जनाएका छन्। साथै, सरकार र सम्बन्धित रोजगारदातासँग मृतकका परिवारलाई क्षतिपूर्ति र आश्रित परिवारको भरणपोषणको व्यवस्था गर्न माग गरेका छन्।

यसैबीच, नेपालका गिग तथा प्लाटफर्म श्रमिकहरूले सरकारसमक्ष विभिन्न मागसहित ज्ञापनपत्र पनि बुझाएका छन्। ज्ञापनपत्रमा उल्लेख छ— पछिल्लो दशकमा गिग तथा प्लाटफर्म अर्थतन्त्रको विस्तार भए पनि यस क्षेत्रका लाखौं श्रमिकहरू श्रम अधिकार, सामाजिक सुरक्षा र सुरक्षित कार्य वातावरणबाट अझै वञ्चित छन्।

श्रमिकहरूले प्लाटफर्म कामदारलाई श्रम ऐनअनुसार संगठित हुने र सामूहिक सौदाबाजीको अधिकार सुनिश्चित गर्न माग गरेका छन्। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) द्वारा पारित प्लाटफर्म अर्थतन्त्रसम्बन्धी मर्यादित कामको मापदण्ड अनुमोदन गर्न र सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै गिग तथा प्लाटफर्म श्रमिकको अधिकार संरक्षण गर्ने कानुन बनाउन पनि सरकारसँग आग्रह गरिएको छ।

साथै, श्रमिक, रोजगारदाता र सरकारका प्रतिनिधि सम्मिलित त्रिपक्षीय संवाद समिति गठन गर्न, राइड शेयरिङसम्बन्धी विवाद समाधानका लागि श्रम अदालतमा निःशुल्क र द्रुत सेवाको व्यवस्था गर्न र इन्धनको मूल्य, पूर्वाधार खर्च तथा बढ्दो जीवनयापन लागतका आधारमा राइड शेयरिङको भाडादर समायोजन गर्न पनि ज्ञापनपत्रमा माग राखिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.