काठमाडौं । काठमाडौं महानगरपालिकाको ‘टोल टोलमा फिल्म महोत्सव’ कार्यक्रमअन्तर्गत शुक्रबार बालाजु क्षेत्रमा नेपाली वृत्तचित्र ‘देउताको भैँसी’ (गड्स बफेलो) प्रदर्शन गरियो।
सञ्चारकर्मी तथा छायाँकार विष्णु कल्पितले निर्माण गरेको यो वृत्तचित्र येँःका पुचको व्यवस्थापकीय सहयोगमा बालाजु बाइपास क्षेत्रमा देखाइएको हो। प्रदर्शनीमा स्थानीय समुदायको उल्लेख्य उपस्थिति रह्यो।
जम्मा १४ मिनेट लामो यस डकुमेन्ट्रीमा वि.सं. २०७८ असारमा मेलम्चीमा आएको विनाशकारी बाढी र सोही बाढीले बगाएको एक भैँसीको मार्मिक कथा समेटिएको छ। यो वृत्तचित्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुरस्कार पनि हासिल गरिसकेको छ।
काठमाडौं महानगरपालिकाले सहरका विभिन्न टोल, चोक, पार्क र सार्वजनिक खुला स्थानहरूमा यस्ता महोत्सव आयोजना गर्दै आएको छ। समुदायलाई एकै ठाउँमा भेला गराई सामूहिक रूपमा फिल्म हेर्ने, रचनात्मक छलफल गर्ने र स्थानीयलाई सिर्जनात्मक गतिविधिमा सहभागी गराउने उद्देश्यले यो अभियान सञ्चालन भइरहेको हो।
फिल्म प्रदर्शनसँगै कार्यक्रम स्थलमा स्थानीय कला र संस्कृतिको प्रवर्द्धनका लागि विभिन्न स्टलहरू पनि राखिएका थिए। मेलामा रैथाने नेवारी परिकार, घरमै बनाइएका विभिन्न स्वादका अचार, बारा लगायत खाद्य परिकारको बिक्री–वितरण भइरह्यो।
