काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज निर्माण व्यवसायीहरूसँग महत्त्वपूर्ण छलफल गर्दैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान साढे ११ बजे हुने यस बैठकमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी हुनेछन् ।
छलफलमा महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुने कार्यक्रम छ ।
निर्माण क्षेत्रले लामो समयदेखि भुक्तानीमा ढिलाइ, ठेक्का व्यवस्थापन, लागत वृद्धिका कारण सिर्जित समस्या तथा कानुनी र नीतिगत जटिलता जस्ता विषय उठाउँदै आएको छ । आजको छलफलमा यिनै समस्याबारे सरकार र निर्माण व्यवसायीबीच प्रत्यक्ष संवाद हुने अपेक्षा छ ।
यस छलफलबाट निर्माण क्षेत्रलाई थप सहज बनाउने नीतिगत सुधार, विकास आयोजनाको कार्यान्वयनमा देखिएका अवरोध हटाउने उपाय तथा सरकार र निजी क्षेत्रबीचको समन्वय सुदृढ गर्ने विषयमा निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ ।
