मनोरंजन

शर्मिला थापाको ‘आशा’: महेश त्रिपाठी र अञ्जना बराइलीको अभिनयमा बन्दै पारिवारिक फिल्म

By अर्जुन भट्टराई •

शर्मिला थापाको ‘आशा’: महेश त्रिपाठी र अञ्जना बराइलीको अभिनयमा बन्दै पारिवारिक फिल्म

काठमाडौं । नेपाली फिल्म जगत्‌मा एउटा नयाँ पारिवारिक फिल्म आउँदै छ — ‘आशा’। निर्मात्री शर्मिला थापाको उडान स्टुडियोको लगानीमा बन्न लागेको यो फिल्मको घोषणा आज काठमाडौंमा एक विशेष समारोहबीच गरियो।

फिल्मको निर्देशन राजिव गुरुङले गर्नेछन्, जो यसका कथाकार पनि हुन्। ११ जना बटुकहरूद्वारा स्वस्तिशान्ति वाचनसँगै सुरु भएको कार्यक्रममा फिल्मको विषयवस्तु, कलाकार र प्राविधिकहरूको परिचय गराइयो। साथै, यस अवसरमा अग्रज प्राविधिकलाई विशेष सम्मान पनि गरियो।

फिल्ममा महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, शुशांक मैनाली, आशान्त शर्मा, केनिपा सिंह र कविता रेग्मी लगायतका कलाकारले अभिनय गर्नेछन्।

निर्मात्री शर्मिला थापाले फिल्मबारे बताउँदै भनिन्, “आशा पूर्णरूपमा पारिवारिक फिल्म हो। हामीलाई अहिले परिवारसँग समय बिताउने फुर्सद हुँदैन। तर, त्यही परिवार अपूर्ण हुँदा नभएको सदस्यको महत्व झल्किन्छ, महसुस हुन्छ। बालकदेखि वृद्धसम्म सबैले हेर्नुपर्ने फिल्म बन्नेछ। विदेशीलाई समेत गर्वसाथ देखाउन सकिने गरी आफ्नै कथालाई पर्दामा ल्याउँदैछौं।”

निर्देशक गुरुङले भने, “यो कथालाई पर्दामार्फत दर्शक हुँदै परिवारसम्म पुर्‍याउनु पर्छ भन्ने लागेर नै फिल्म बनाउँदैछौं। एउटा मनछुने पारिवारिक कथामा आधारित यो फिल्मको छायांकन सकिएपछि थप जानकारी दिनेछौं।”

अभिनेता महेश त्रिपाठीले फिल्मको कथाले नै आफूलाई आकर्षित गरेको बताए। उनले भने, “यसको कथा अहिले बनिरहेका फिल्मभन्दा फरक छ। एउटा अभिनेतालाई राम्रो कथाको लोभ लाग्छ नै, त्यसैले यसमा जोडिएको छु। यो फिल्मले मनोरन्जनका साथै केही महत्वपूर्ण कुरा पनि दर्शकलाई दिन्छ।”

समारोहमा विसं २०४६ मा प्रदर्शित चलचित्र ‘अन्याय’मा भेषभूषा विभागमा काम गर्नुभएका प्राविधिक कमल मिश्रलाई ५१ हजार नगद र दोसल्लाह ओढाएर सम्मान गरियो। निर्मात्री थापा, निर्देशक गुरुङ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संयुक्त रूपमा यो सम्मान प्रदान गरे।

फिल्मको प्राविधिक टोलीमा सह लेखक रामकुमार श्रेष्ठ, स्क्रिप्ट सुपरभाइजर तथा कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल, साउन्ड डिजाइनर किशोर आचार्य, मेकअप एन्ड हेयर सोनाली शिल्पकार रहेका छन्। यस्तै, मुख्य सहायक निर्देशक रामकुमार श्रेष्ठ, सहायक निर्देशक शान्ति तामाङ, प्रोडक्सन म्यानेजर अरुण रेग्मी, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) र वितरक करण श्रेष्ठ (रीच इन्टरटेनमेन्ट) रहेका छन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.