समाचार

नेपालको स्वास्थ्य क्षेत्रमा नर्वेको सहयोग जारी रहने, राजदूतसँग मन्त्री मेहताको भेटवार्ता

By अर्जुन भट्टराई

नेपालको स्वास्थ्य क्षेत्रमा नर्वेको सहयोग जारी रहने, राजदूतसँग मन्त्री मेहताको भेटवार्ता

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि नर्वेकी राजदूत महामहिम ड्याग्नी म्योसबीच बिहिबार मन्त्रालयमा भेटवार्ता भएको छ।

भेटका क्रममा नेपाल र नर्वेबीचको द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउने तथा स्वास्थ्य क्षेत्रमा भइरहेको सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

छलफलमा नर्वे सरकारको सहयोगमा नेपालमा सञ्चालित स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य सूचना प्रणाली, मानसिक स्वास्थ्य, स्वास्थ्य शिक्षा, स्वास्थ्य अनुसन्धान, मातृ तथा बाल स्वास्थ्य र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमलगायतका विभिन्न कार्यक्रमको समीक्षा गरियो।

मन्त्री मेहताले नेपालको बढ्दो रोगको भार र आवश्यकतालाई ध्यानमा राख्दै स्वास्थ्य पूर्वाधार विकास, स्वास्थ्य सेवाको डिजिटाइजेशन, जलवायु परिवर्तन र जनस्वास्थ्य, नसर्ने रोग तथा मानसिक स्वास्थ्य सेवा सुदृढीकरण, स्वास्थ्य पर्यटन र जडीबुटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताइन्। साथै, यी क्षेत्रमा नर्वेसँग थप सहकार्यको अपेक्षा रहेको पनि उनले उल्लेख गरिन्।

राजदूत म्योसले नर्वे सरकारले नेपाल सरकारका विकास प्राथमिकताअनुसार स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा सहयोग निरन्तर दिने प्रतिबद्धता व्यक्त गरिन्। नेपालका लागि थप सहकार्यका कार्यक्रमहरू अघि बढाउने तयारी भइरहेको जानकारी पनि उनले दिइन्।

उल्लेखनीय छ कि नेपाल र नर्वेबीच स्वास्थ्य, शिक्षा तथा दिगो विकासका विभिन्न क्षेत्रमा लामो समयदेखि सहकार्य हुँदै आएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.