मुगु । मुगु जिल्ला अदालतले चालु आर्थिक वर्ष २०८२/०८३ को असार २२ गतेसम्म दर्ता भएका र जिम्मेवारी सरेका गरी जम्मा १०१ मुद्दामध्ये ८० वटा फछ्र्यौट गरेको छ। यो कुल मुद्दाको ७९.२१ प्रतिशत हो भने अदालतको वार्षिक लक्ष्यका आधारमा ८१.६३ प्रतिशत उपलब्धि हासिल भएको छ। हाल २१ मुद्दा अझै बाँकी रहेका छन्।
अदालतको तथ्याङ्क अनुसार यस आर्थिक वर्षमा अघिल्लो वर्षबाट ३२ मुद्दा जिम्मेवारी सरेका थिए भने ६९ नयाँ मुद्दा दर्ता भएका थिए। पछिल्ला तीन आर्थिक वर्षको तुलनामा हेर्दा अदालतको कार्यसम्पादनमा उल्लेख्य सुधार देखिएको छ। आर्थिक वर्ष २०८०/०८१ मा ९५ मुद्दामध्ये ५३ मात्र फछ्र्यौट भएकोमा, आर्थिक वर्ष २०८१/०८२ मा १३४ मध्ये ९० मुद्दा टुंगिएका थिए। चालु वर्षमा बाँकी मुद्दाको संख्या घटेर २१ मा सीमित भएको अदालतले जनाएको छ।
मार्ग समूहका आधारमा हेर्दा सरल समूहका १५ मध्ये ८, सामान्य समूहका ८५ मध्ये ७१ र विशेष समूहको १ मुद्दा शतप्रतिशत फछ्र्यौट भएको छ। विषयगत मुद्दामध्ये सम्बन्धविच्छेद, जबरजस्ती करणी, बैंकिङ कसुर, लागू औषध, बहुविवाह, अभद्र व्यवहार र घरेलु हिंसासम्बन्धी मुद्दाको सुनुवाइ जारी रहेको अदालतले जनाएको छ। बालबालिका प्रतिवादी भएका ९ मुद्दामध्ये ६ फछ्र्यौट भई ३ बाँकी छन्।
कैद तथा जरिवाना कार्यान्वयनतर्फ २० निवेदनमध्ये १३ फछ्र्यौट भएका छन्। कैदतर्फ ५५.४३ प्रतिशत र जरिवाना असुलीतर्फ १८.३८ प्रतिशत प्रगति भएको अदालतको तथ्याङ्कमा उल्लेख छ।
मुगु जिल्ला अदालतका निमित्त स्रेस्तेदार प्रेमराज खनियाका अनुसार अदालतले सेवा प्रवाहमा केही चुनौतीहरूको सामना गरिरहेको छ। भौतिक प्रमाणको परीक्षण प्रतिवेदन समयमै नआउनु, फरार प्रतिवादीको ठेगाना अस्पष्ट रहनु, म्याद पुर्जी समयमा तामेल नहुनु, सम्बन्धित निकायबाट आदेश कार्यान्वयनमा ढिलाइ हुनु, साक्षी समयमै उपस्थित नहुनु र विद्युत आपूर्तिको समस्याले मुद्दा फछ्र्यौटमा असर परेको उनले बताए। यी चुनौतीका बाबजुद अदालत समयमै न्याय सम्पादन गर्ने उद्देश्यका साथ कार्यसम्पादनलाई थप प्रभावकारी बनाउँदै आएको उनको भनाइ छ।
