जनकपुर । मिटरब्याजबाट पीडित नागरिकहरूले बिहीबार जनकपुरधामको तिरहुतिया गाछि मैदानबाट काठमाडौंसम्मको पैदल मार्च शुरु गरेका छन् । देशभरका विभिन्न स्थानबाट आएका पीडितहरूले पैदल मार्च शुरु गर्नुअघि फर्जी तमसुक जलाए र मशाल बालेर आफ्नो आन्दोलनको औपचारिक सुरुवात गरे ।
लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनका केन्द्रीय अध्यक्ष रमेश सेन्चुरीले यस पटकको संघर्ष अन्तिम हुने बताए । उनले प्रधानमन्त्री बालेन्द्र साहले प्रधानमन्त्री बन्नुअघि जनकपुरधामबाटै मिटरब्याज पीडितहरूको समस्या समाधान गर्ने वाचा गरेको भए पनि १०० दिन बितिसक्दा पनि आफूहरूलाई बेवास्ता गरिएको भन्दै गुनासो पोखे ।
अध्यक्ष सेन्चुरीले सरकारसँग अहिलेसम्म चार पटक सहमति भए पनि कुनै पनि सहमति प्रभावकारी रूपमा कार्यान्वयन नभएकाले अन्तिम प्रयासस्वरूप पुनः पैदल मार्च गर्नुपरेको जानकारी दिए । उनले काठमाडौं पुगेर आन्दोलनमा उत्रनुअघि नै सरकारले आफूहरूको माग सम्बोधन गर्ने आशा अझै राखेको बताउँदै देशभर छरिएका सबै मिटरब्याज पीडितहरूलाई यस पैदल यात्रामा सहभागी हुन आग्रह गरे ।
