मनोरंजन

साउन १ गते आउँदैछ ‘गौँथली’, शिक्षाबाट वञ्चित बालिका र अटिजमको मार्मिक कथा

By अर्जुन भट्टराई •

साउन १ गते आउँदैछ ‘गौँथली’, शिक्षाबाट वञ्चित बालिका र अटिजमको मार्मिक कथा

काठमाडौँ। नेपाली फिल्म ‘गौँथली’ आगामी साउन १ गतेदेखि सिनेमाघरमा प्रदर्शन हुन लागेको छ। ट्रेलर सार्वजनिक भएसँगै फिल्मले दर्शकबीच चर्को चर्चा पाइरहेको छ।

यो फिल्म झन्डै २५ वर्षअघि प्रदर्शन भएको सोही नामको चलचित्रको गीतिकथामा आधारित छ। त्यस फिल्मको कथा लेखन र निर्माण डाक्टर भोला रिजालले गरेका थिए। अहिले उनकै छोरा डा. कपिल रिजालले सोही शीर्षक र भावलाई कायम राख्दै ‘गौँथली’को निर्माण तथा निर्देशन गरेका छन्।

बेलायतमा दन्त चिकित्सकका रूपमा परिचित डा. कपिल रिजालको यो दोस्रो फिल्म हो। यसअघि उनले ‘ह्यारीकी प्यारी’ निर्देशन गरिसकेका छन्। ‘ह्यारीकी प्यारी’मा स्पर्म डोनेशनको विषय उठाएका निर्देशक रिजालले ‘गौँथली’मा अटिजम भएका व्यक्तिको जीवनलाई केन्द्रमा राखेका छन्।

“म चिकित्सक भएकाले पनि स्वास्थ्यका विषयहरू मेरो सोचमा आउँछन्। त्यसैले मेरा फिल्मका कथामा स्वास्थ्य पनि जोडिन्छ। यसले दर्शकलाई ती समस्यासँग परिचित गराउनुका साथै त्यस्तो अवस्थामा के गर्ने भन्ने जानकारी पनि सूक्ष्म रूपमा दिन्छ,” उनले भने।

फिल्मको मूल कथा शिक्षाबाट वञ्चित एक बालिकाको सङ्घर्षमा केन्द्रित छ। सानै उमेरमा विवाह गर्नुपरेकी तर एसइई पास गर्ने सपना बोकेकी बालिका र अटिजम भएका युवकको जोडीको जीवनयात्रा फिल्ममा ग्रामीण परिवेशमा चित्रण गरिएको छ। यो जोडीको उतारचढावभरिको जीवनमा शिक्षाले पार्ने प्रभाव नै फिल्मको मुख्य सन्देश हो। गम्भीर विषयलाई सरल र मन छुने तरिकाले प्रस्तुत गर्ने कोसिस निर्देशक रिजालले गरेका छन्।

अटिजम भएका युवकको भूमिकामा अभिनेता अरुण क्षेत्री र बालिकाको भूमिकामा अभिनेत्री सिम्रन खड्का देखिनेछन्। फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकार पनि छन्।

डा. भोला रिजालको कथामा आधारित यस फिल्मको संवाद निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा लेखेका छन्। फिल्म भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्मित भएको छ। निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् भने कार्यकारी निर्माता सरला रिजाल हुन्।

फिल्ममा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत छ। पार्श्व संगीत एलिस कार्कीको, छायांकन हरि हुमागाईंको र सम्पादन मिलन श्रेष्ठको रहेको छ। फिल्मको वितरण रीच इन्टरटेनमेन्टले गर्दैछ। निर्देशक रिजालका अनुसार ‘गौँथली’ शब्दले घर, परिवार र आपसी नजिकिताको प्रतीकात्मक अर्थ बोकेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.