काठमाडौं । सौर्य ऊर्जा क्षेत्रमा कार्यरत ईस्ट सोलार लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ । झापामा निर्माणाधीन ५ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना लगभग सम्पन्न हुन लागेकै समयमा कम्पनीले यो कदम चाल्न लागेको हो ।
आईपीओ निष्कासनको पहिलो कदमस्वरूप ईस्ट सोलारले बुधबार नेश्नल क्यापिटल नेपालसँग निष्कासन तथा बिक्री प्रबन्धक (इश्यु म्यानेजर) नियुक्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्यो ।
सम्झौतापछि ईस्ट सोलारका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले झापा जिल्लाको बैगुनधुरामा निर्माण भइरहेको बैगुनधुरा सोलार परियोजना अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले भने, ‘आयोजना सञ्चालनमा आउने समयमै आईपीओ जारी गर्ने लक्ष्यका साथ आज नेश्नल क्यापिटलसँग सम्झौता गरेका हौँ ।’
कम्पनी हाल पब्लिक लिमिटेडमा रूपान्तरण हुने प्रक्रियामा रहेको छ । आईपीओमार्फत सर्वसाधारण लगानीकर्तालाई पनि कम्पनीको स्वामित्वमा सहभागी गराउने तयारी भइरहेको छ ।
नेश्नल क्यापिटल नेपालका प्रमुख कार्यकारी अधिकृत अर्पण खनालले आफ्नो संस्थाले ईस्ट सोलारलाई सार्वजनिक कम्पनीका रूपमा अघि बढाउने प्रक्रियामा निष्कासन व्यवस्थापनको जिम्मेवारी लिएको बताए । नेश्नल क्यापिटल नेपाल नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त मर्चेन्ट बैंकर हो र निष्कासन व्यवस्थापन यसको प्रमुख सेवामध्ये एक हो ।
खनालले नेपाललाई १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने सरकारको लक्ष्य हासिल गर्न निजी क्षेत्रको विस्तार र पुँजी बजारको विकास अपरिहार्य रहेको बताए । उनले अहिले अधिकांश वित्तीय स्रोत बैंकिङ प्रणालीमा केन्द्रित रहेकाले कम्पनीहरूले बैंक ऋणमा मात्र भर नपरी पुँजी बजारमार्फत दीर्घकालीन लगानी जुटाउनुपर्ने आवश्यकतामा जोड दिए । ईस्ट सोलारसँगको यो सम्झौताले ऊर्जा क्षेत्रमा निजी लगानी विस्तार र पुँजी बजारको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ ।
