समाचार

सिरहाका वन अधिकृत १२ हजार घुससहित रंगेहात पक्राउ

By अर्जुन भट्टराई

सिरहाका वन अधिकृत १२ हजार घुससहित रंगेहात पक्राउ

सिरहाको सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख वन अधिकृत रामकेवल राय यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले १२ हजार रुपैयाँ घुस लिइरहेकै अवस्थामा रंगेहात पक्राउ गरेको छ।

आयोगका अनुसार वन अधिकृत यादवले कर्जन्हा नगरपालिका–२ मा सञ्चालित एक काठ उद्योगका सञ्चालकसँग विभिन्न स्थानबाट ल्याइएका तीन ट्रक काठको व्यवस्थापन गरिदिने भन्दै प्रतिट्रक ४ हजार रुपैयाँका दरले जम्मा १२ हजार रुपैयाँ घुस माग गरेका थिए। घुस मागिएको थाहा पाएपछि सेवाग्राहीले अख्तियारमा उजुरी दिए र आयोगले प्रमाण संकलन गर्दै योजनाबद्ध रूपमा निगरानी सुरु गर्‍यो।

त्यसैक्रममा कर्जन्हा नगरपालिका–४ मा यादवले घुस रकम हात पार्नासाथ अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लियो। पक्राउपछि घटनास्थलमै मुचुल्का तयार गरी प्रमाण संकलन लगायत अन्य कानुनी प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता प्रकाश पोखरेलका अनुसार घटनास्थलमा कानुनी प्रक्रिया पूरा भएपछि थप अनुसन्धानका लागि यादवलाई बर्दिबास कार्यालय लगिने तयारी छ।

यस घटनाले वन कार्यालयसँग सम्बन्धित सेवामा हुने अनियमितता र घुसखोरीबारे पुनः बहस छेडिएको छ। अख्तियारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अनुसार अनुसन्धान जारी राखेको जानकारी दिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.