काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ च’ जारी गर्न लागेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले यो ऋणपत्र १ वर्षको अवधिका लागि बोलकबोल प्रक्रियामार्फत निष्कासन गर्ने जनाएको छ ।
बैंकले प्रकाशित गरेको सूचना अनुसार, यस ऋणपत्रको बोलकबोल असार २४ गते मध्याह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र यसमा सहभागिता जनाउन पाउनेछन् ।
सहभागी हुन इच्छुक संस्थाहरूले न्यूनतम ५ करोड र त्यसको गुणनमा कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रको ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण गरिनेछ ।
साँवा भुक्तानी २०८४ असार २४ गते हुनेछ भने ब्याज भने अर्धवार्षिक रूपमा प्रदान गरिनेछ । इच्छुक बोलवालाले बहुब्याजदरमा समेत बोलकबोल गर्न सक्नेछन् । बैंकले सानोदेखि ठूलो ब्याजदरको क्रममा बोलपत्रहरू मिलाई आह्वान रकमसम्मको बिन्दुमा एकल ब्याजदर कायम गरी ऋणपत्र बिक्री गर्ने प्रक्रिया तोकेको छ ।
लगानी गरिएको यो ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थाहरूले धितोको रूपमा समेत प्रयोग गर्न पाउनेछन् । यसलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिनेछ ।
स्वीकृत बोल रकम भुक्तानीका लागि सम्बन्धित संस्थाको खातामा पर्याप्त मौज्दात हुनु अनिवार्य छ । यदि मौज्दात नभई बोल रकम रद्द हुन गएमा सम्बन्धित संस्थालाई स्वीकृत रकमको २.५० प्रतिशत हर्जाना लगाइनेछ र थप ६ महिनासम्म कुनै पनि बोलकबोलमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध समेत लगाइने राष्ट्र बैंकले सूचनामा स्पष्ट पारेको छ ।
