काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी २०२६–२०२८ कार्यकालका लागि चुनावी तयारी जोडतोडका साथ अगाडि बढेको छ। यस निर्वाचनमा पर्यटन, उच्च शिक्षा, अन्तर्राष्ट्रिय स्वयंसेवा र सामाजिक रूपान्तरणमा करिब तीन दशकको अनुभव बोकेका उद्यमी सुशील पन्तले महासचिव पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
पन्त स्थापित पर्यटन व्यवसायी जी स्वा तुलाधरको नेतृत्वमा रहेको प्यानलबाट महासचिवका साझा उम्मेदवार बनेका हुन्। अनुभव, नवप्रवर्तन र समावेशी नेतृत्वलाई आफ्नो मूल मन्त्र बनाएका पन्त नाट्टालाई प्रविधिमैत्री र व्यावसायिक बनाउने अठोटका साथ मैदानमा उत्रिएका छन्।
कानुनी र प्रशासनिक पृष्ठभूमि
गोरखाको पालुङटारमा वि.सं. २०३३ सालमा जन्मिएका सुशील पन्तले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन्। नेपाल बार काउन्सिलका प्रमाणित अधिवक्ता (प्रमाणपत्र नं. १५११५) समेत रहेका उनी नीतिगत पैरवी गर्न सक्षम व्यक्तित्व हुन्।
सन् १९९८ देखि पर्यटन उद्योगमा सक्रिय पन्त ‘गोरखा इन्टरनेशनल ट्राभल्स’ र ‘एडभेन्चर गोर्खाल्याण्ड ट्रेक्स एन्ड एक्सपिडिसन’ का प्रबन्ध निर्देशक हुन्। यसका साथै उनले ‘ओनभिरो टेक’ नामक आईटी कम्पनीमार्फत पर्यटन क्षेत्रमा डिजिटल रूपान्तरणको अभ्यास पनि गरिरहेका छन्।
नेपाल–जापान सम्बन्धको सेतु
पन्त ‘KIVO Japan’ (International Student Volunteering Cooperation) को नेपाल संयोजकका रूपमा लामो समयदेखि कार्यरत छन्। सन् २००९ देखि हालसम्म उनको संयोजनमा १,००० भन्दा बढी जापानी विद्यार्थी तथा स्वयंसेवकहरू नेपाल आइसकेका छन्। ती स्वयंसेवकहरूले गोरखा र धादिङका दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार विकास, ग्रामीण सरसफाइ, स्वास्थ्य शिविर, वातावरण संरक्षण र ग्रामीण पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान दिएका छन्।
‘रेनबो टुरिजम’ र समावेशी पर्यटन
पन्त ‘Entire Power in Social Action (EPSA) Nepal’ का संस्थापक सदस्य र कानुनी सल्लाहकार हुन्, जुन संस्था शारीरिक रूपमा फरक क्षमता भएका व्यक्तिहरूको सशक्तीकरणमा कार्यरत छ। सन् २०२५ मा काठमाडौंमा नेपालकै पहिलो ‘Rainbow International Convention’ सफलतापूर्वक आयोजना गर्न उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। यस सम्मेलनले LGBTQI+ समुदायका अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि नेपाललाई दक्षिण एसियाकै एक सुरक्षित र स्वागतयोग्य गन्तव्यका रूपमा स्थापित गर्यो।
नाट्टाका लागि स्पष्ट योजना
पन्तले नाट्टालाई ‘सदस्य–केन्द्रित, पारदर्शी र प्रविधिमैत्री’ बनाउने प्रतिबद्धता जनाएका छन्। साना तथा मझौला पर्यटन व्यवसायीहरूको हित संरक्षण, नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरूको खोजी, सरकारी नीति–नियममा व्यवसायी अनुकूल परिमार्जनका लागि पैरवी र पर्यटन क्षेत्रका चुनौतीहरूको डिजिटल समाधान उनका मुख्य चुनावी एजेन्डा हुन्।
यसअघि ‘भिटोफ नेपाल’ (VITOF) र ‘सिट्टो नेपाल’ (SOTTO) मा कार्यकारी सदस्यको रूपमा काम गरिसकेका पन्त पाटा (PATA), टान (TAAN) र ठमेल पर्यटन विकास परिषद् (TTDC) मा पनि सक्रिय सदस्य रहेका छन्।
शिक्षा क्षेत्रमा ‘प्रेसियस नेशनल कलेज’ को अध्यक्षका रूपमा काम गर्दै आएका पन्त वि.सं. २०७९ को प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नं. २ बाट उम्मेदवार पनि बनिसकेका छन्।
‘नाट्टाको महासचिव पद मेरो लागि केवल ओहोदा मात्र होइन, यो त सम्पूर्ण पर्यटन व्यवसायीहरूको साझा हित, संस्थागत सुदृढीकरण र नेपालको पर्यटन उद्योगलाई नयाँ उचाइमा पुऱ्याउने साझा दायित्व हो,’ पन्त भन्छन्।
