काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशकहरूलाई सरकारको ‘मिसन १६ खर्ब’ राजस्व लक्ष्य पूरा गर्न इमानदारीपूर्वक काम गर्न कडा निर्देशन दिएका छन्।
मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री वाग्लेले भन्सार विभागका नवनियुक्त महानिर्देशक यमलाल भुसाल, आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसाल र भन्सार विभागका उपमहानिर्देशक प्रेमप्रसाद आचार्यलाई आ–आफ्नो कार्यक्षेत्रमा खटिनुअघि यो निर्देशन दिएका हुन्।
अर्थमन्त्री वाग्लेले भने, ‘व्यावसायिक वातावरण र मनोबल उच्च राख्दै राजस्वको लक्ष्य भेटिने गरी मिसन १६ खर्बका लागि इमानदारीपूर्वक लाग्नुहोस्। चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बढाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले सबैखाले सहयोग उपलब्ध गराउँछ।’
उनले भन्सार र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग आबद्ध गरी थप चुस्त, प्रभावकारी र पारदर्शी बनाउन पनि निर्देशन दिए। प्रविधिको प्रयोगमार्फत राजस्व चुहावट नियन्त्रण गर्दै सेवा प्रवाहमा सुधार ल्याउनुपर्ने उनको जोड थियो।
अर्थमन्त्री वाग्लेले थपे कि भन्सार तथा कर आम्दानी बढाएर मुलुकको आन्तरिक आय बलियो बनाउन सकिएमा बाह्य ऋणमाथिको निर्भरता घट्नेछ र आफ्नै स्रोतबाट विकास निर्माणलाई गति दिन सकिनेछ। उनले प्रशासनमा सक्षम र अब्बल मानिएका यी अधिकारीहरूबाट आगामी ६ देखि ८ महिनाभित्र ठोस परिणाम देखिने विश्वास व्यक्त गरे।
उल्लेख्य छ, गत असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव यमलाल भुसाल, डा. भीष्मकुमार भुसाल र प्रेमप्रसाद आचार्यलाई अर्थ मन्त्रालयमा सरुवा गरेको थियो। असार २२ गते मन्त्रालयमा हाजिर भएका तीनै जनालाई मन्त्रालयले क्रमशः भन्सार विभागको महानिर्देशक, आन्तरिक राजस्व विभागको महानिर्देशक र भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिएको हो।
नयाँ जिम्मेवारी सम्हालेका तीनै सहसचिवले अर्थमन्त्रीको निर्देशन इमानदारीपूर्वक पालना गर्दै राजस्व संकलन सुधार र प्रणाली सुदृढीकरणमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
