काठमाडौं । आगामी साउन १ गतेदेखि सिनेमाघरमा प्रदर्शन हुन लागेको चलचित्र ‘गौँथली’ दर्शकबीच क्रमशः चर्चित बन्दै गएको छ । टिजर र ट्रेलर सार्वजनिक भएसँगै यस चलचित्रप्रतिको उत्सुकता झन् बढ्दो छ ।
चार दिनअघि सार्वजनिक गरिएको ट्रेलर युट्युबको ट्रेन्डिङ चार्टमा नेपाली चलचित्रतर्फको दोस्रो स्थानमा पुगेको छ, जसले दर्शकको चाहना र प्रतीक्षालाई स्पष्ट देखाउँछ ।
चलचित्रमा अटिजम भएको युवकको भूमिकामा अभिनय गरेका अरुण क्षेत्री र उनको विपरीत भूमिकामा रहेकी सिम्रन खड्कोको अभिनयले व्यापक प्रशंसा पाइरहेको छ । प्रचारका क्रममा दुवैले गरेको मेहनतलाई पनि दर्शकले सराहना गरेका छन् ।
अटिजमग्रस्त युवकसँग भर्खरै विवाह गरेकी दुलहीले झेल्नुपर्ने समस्या, पढाइका लागि उनले गरेको संघर्ष, परम्परागत सोच र मान्यताले तोडिरहेको सुन्दर सपनाको यथार्थपरक प्रस्तुतिले दर्शकको मन जितेको छ ।
‘गौँथली’ का निर्देशक डा. कपिल रिजाल हुन् । चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्कोका अतिरिक्त मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीले अभिनय गरेका छन् । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली छन् ।
चलचित्रको कथा डा. भोला रिजालको हो भने पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रकी कार्यकारी निर्माता सरला रिजाल हुन् । सुमन गिरी र डा. कपिल रिजाल निर्माताको भूमिकामा छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माता छन् ।
चलचित्रको संगीत शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीले दिएका छन् भने पार्श्व संगीत एलिस कार्कीको छ । छायांकन हरि हुमागाईंले र सम्पादन मिलन श्रेष्ठले गरेका छन् । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेका यस चलचित्रमा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक छन् । ध्वनि मिश्रण मुकेश शाहको, रङ संयोजन राजेन्द्र मोक्तानको र कोरियोग्राफी रामजी लामिछाने तथा मौसम हिमालीको रहेको छ ।
चलचित्र वितरणको जिम्मा रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले लिएका छन् भने ‘ओएसआर डिजिटल’ डिजिटल पार्टनर रहेको छ ।
उल्लेखनीय छ, ‘गौँथली’ नामकै चलचित्र डा. भोला रिजालले दुई दशकअघि निर्माण गरेका थिए, जसलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ र त्यस चलचित्रले प्रदर्शनको ५१औँ दिन मनाएको थियो । अहिले सोही नामबाट डा. भोला रिजालका छोरा एवं निर्देशक डा. कपिल रिजालले नयाँ ‘गौँथली’ निर्माण गरेका हुन् ।
