अर्थ

ईजी सोलार पब्लिक लिमिटेडमा रूपान्तरण हुँदै, नेश्नल क्यापिटल नेपालसँग आईपीओ व्यवस्थापन सम्झौता

By अर्जुन भट्टराई

ईजी सोलार पब्लिक लिमिटेडमा रूपान्तरण हुँदै, नेश्नल क्यापिटल नेपालसँग आईपीओ व्यवस्थापन सम्झौता

काठमाडौं । सौर्य ऊर्जा क्षेत्रमा काम गर्दै आएको ईजी सोलार लिमिटेड अब पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण हुने भएको छ । यसका लागि कम्पनीले बुधबार नेश्नल क्यापिटल नेपालसँग प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) व्यवस्थापन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ।

नेश्नल क्यापिटल नेपालका प्रमुख कार्यकारी अधिकृत अर्पण खनालले यो सम्झौता ईजी सोलारलाई सार्वजनिक कम्पनीका रूपमा अघि बढाउने प्रक्रियाको एक महत्त्वपूर्ण कदम भएको बताए । उनका अनुसार नेश्नल क्यापिटल नेपाल नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त मर्चेन्ट बैंकर हो र निष्कासन व्यवस्थापन तथा पोर्टफोलियो व्यवस्थापन यसका प्रमुख सेवाहरूमध्ये पर्छन्।

खनालले थपे कि सरकारले नेपाललाई १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने लक्ष्य राखेको सन्दर्भमा निजी क्षेत्रको विस्तार र पुँजी बजारको विकास अत्यन्त जरुरी छ । हाल अधिकांश वित्तीय स्रोत बैंकिङ प्रणालीमा केन्द्रित रहेकाले कम्पनीहरूले पुँजी बजारमार्फत लगानी जुटाउने प्रवृत्ति बढाउन आवश्यक रहेको उनले बताए । उद्यमी तथा कम्पनीहरूलाई शेयर बजारमार्फत पुँजी संकलन गर्न सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले ईजी सोलारसँगको यो सम्झौतालाई सोही दिशामा चालिएको सकारात्मक कदम भएको बताए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.