अर्थ

चन्द्रागिरी हिल्सको ९ महिनामा ४५ करोड ६० लाखको आम्दानी, आन्दोलनको मार झेल्दै व्यवसाय पुनरुत्थानतर्फ

By अर्जुन भट्टराई

चन्द्रागिरी हिल्सको ९ महिनामा ४५ करोड ६० लाखको आम्दानी, आन्दोलनको मार झेल्दै व्यवसाय पुनरुत्थानतर्फ

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा ४५ करोड ६० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको छ। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कम्पनीको भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो। तोडफोड र आगजनीका कारण करिब तीन महिनासम्म केबलकार सेवा पूर्णरूपमा ठप्प रह्यो। यस्तो कठिन परिस्थितिमा पनि कम्पनीको व्यापारिक प्रदर्शन सन्तोषजनक रहेको बताइएको छ।

तुलनात्मक रूपमा हेर्दा, आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको आम्दानी एक अर्ब रुपैयाँ पुगेको थियो भने २०८१/८२ मा ९० करोड २० लाख रुपैयाँ रहेको थियो।

संरचना पुनर्निर्माण र व्यवसायमा आएको अवरोधका कारण चालु आर्थिक वर्षको ९ महिनामा कम्पनी ९० लाख रुपैयाँ खुद नोक्सानीमा छ। गत आर्थिक वर्ष २०८१/८२ मा १८ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको मुनाफामा आन्दोलनपछिको अवरोधले प्रत्यक्ष असर पारेको स्पष्ट देखिन्छ।

केबलकार बन्द हुँदा रिसोर्ट व्यवसाय पनि प्रभावित भएको छ। अघिल्लो वर्ष ३६ प्रतिशत रहेको कोठा उपयोग दर (अकुपेन्सी) यस अवधिमा घटेर २२ प्रतिशतमा झरेको छ।

कम्पनीको वित्तीय अवस्था मूल्यांकन गर्दै इक्रा नेपालले चन्द्रागिरी हिल्सको जारीकर्ता रेटिङलाई आईसीआरएएनपी–आईआर बीबी प्लसमा पुनः पुष्टि गरेको छ। साथै, यसअघि राखिएको नकारात्मक निगरानी सूचीबाट पनि कम्पनीलाई हटाइएको छ। केबलकार सञ्चालन पुनः सुचारु हुनु र ऋण भुक्तानीको तालिका व्यवस्थित हुनुले कम्पनीको वित्तीय जोखिम कम भएको इक्रा नेपालको विश्लेषण छ। हाल कम्पनीको दीर्घकालीन ऋण सीमा २ अर्ब ४ करोड ४० लाख रुपैयाँ कायम छ।

वित्तीय भार कम गर्न र ऋण घटाउन कम्पनीले शतप्रतिशत (१ः१) हकप्रद शेयर जारी गर्ने प्रस्ताव अघि सारेको छ। यसबाट प्राप्त रकम मुख्यतः बैंक ऋण भुक्तानीमा प्रयोग गरिनेछ, जसले आगामी दिनमा कम्पनीको पूँजीगत संरचना थप सुदृढ हुने अपेक्षा गरिएको छ।

सन् २००९ मा स्थापना भएको यस कम्पनीको नेतृत्व आईएमई समूहसँग आबद्ध छ। कम्पनीको सबैभन्दा ठूलो सेयरधनी हेमराज ढकाल हुन्, जसको १९.२ प्रतिशत शेयर छ। अन्य प्रमुख लगानीकर्ताहरूमा चन्द्रप्रसाद ढकाल, उत्तमकुमार नेपाल, अम्बिका प्रसाद पौडेल र भाटभटेनी सुपरमार्केट रहेका छन्। पछिल्लो समय कम्पनीले केबलकारका साथै साहसिक पर्यटन र रिसोर्ट सेवामा विविधीकरण गर्दै आफ्नो ब्रान्ड इमेजलाई थप सशक्त बनाउँदै आएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.